कैलाली–कञ्चनपुरमा लागूऔषधसहित एकैदिन ११ जना पक्राउ

Image
maya metro

धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा लागूऔषधसहित कुल ११ जना पक्राउ परेका छन्। खैरो हेरोइन, चरेश, नियन्त्रित औषधि तथा हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

कैलालीको गोदावरी नगरपालिका–१ बाट ५१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २५ वर्षीय राजन हमाल पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयसहितको टोलीले उनको घर नजिकै कुखुराको फर्ममुनि लुकाइएको अवस्थामा उक्त पदार्थ बरामद गरेको हो।

nisarga

त्यसैगरी घोडाघोडी नगरपालिका–५ देउकलियाबाट १९ वर्षीय पूर्ण बहादुर विष्ट र १९ वर्षीय सुरज नेपालीलाई नियन्त्रित लागूऔषध Nitrazepam १७० ट्याब्लेट र एक थान चक्कुसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडबाट ४८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २८ वर्षीय जीवन बहादुर खड्का र पुनर्वास नगरपालिका–६ कञ्चनपुरकी १८ वर्षीया किशोरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनीहरूलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

कञ्चनपुरतर्फ, कृष्णपुर नगरपालिका–५ कञ्चन बहुमुखी क्याम्पस नजिकबाट ३२ वर्षीय हर्क बहादुर देउवा र ३६ वर्षीय दिल बहादुर चौधरी ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–२ लठ्ठाघाटस्थित पसलबाट ९ ग्राम ८३० मिलिग्राम चरेश जस्तो देखिने पदार्थसहित पसल सञ्चालक ४० वर्षीय गोर्खे दमाई र उनका १८ वर्षीय छोरा पक्राउ परेका छन्।

यस्तै शुक्लाफाँटा नगरपालिका–१० नगरपालिका रोडबाट २१.४७ ग्राम चरेश जस्तो देखिने पदार्थसहित ७० वर्षीय भीम बहादुर ऐर पक्राउ परेका छन्।

प्रहरीले सबै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।