
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-४ स्थित गोदावरी नदीमा आर्यघाट सञ्चालनमा आएको छ । व्यवस्थीत आर्यघाटको शनीबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्धघाटन गरेका हुन् ।
पर्यटन विभागको २ करोड र सुदूरपश्चिम प्रदेश सरकारको १ करोड गरी ३ करोडको लागतमा निर्माण भएको सो आर्यघाट एकपटकमा ७ ओटा शवहरु जलाउन सकिने व्यवस्था गरिएको छ ।

आर्यघाटमा ३ लाख लिटर क्षमताको पानी ट्याङ्की पनि निर्माण गरिएको छ । पानी नभएको समयमा आर्यघाटमा दाहसंस्कारका लागि पानीको सुनिश्चिचता गर्न ट्यांकी निर्माण गरिएको नगरप्रमुख भट्टले बताएका छन्।
नदीमा पानी नहुँदा परम्परागत दाहसंस्कार गर्न कठिनाइ हुँदै आएकोमा अब सहज हुने उनले बताए । आर्यघाटमा अत्याधुनिक अटोमेटिक फ्लसिङ प्रणाली पनि जडान गरिएको छ ।
अटोमेटिक फ्लसिङ प्रणालीले आर्यघाट सरसफाई राख्न पनि मदत पुग्ने भट्टले बताए । आर्यघाटको व्यवस्थापनका लागि २ जना कर्मचारी राखिने पनि उनले बताएका छन् ।
सो आर्यघाटमा अत्याधुनिक अटोमेटिक फ्लसिङ प्रणाली जडान गरिएको छ । आर्यघाटमा यसअघि नै ४ कोठे क्रियापुत्रीघर निर्माण भइसकेको छ । पार्किङ स्थल निमार्णका लागि वनहरुसंग छलफल भइरहेको पनि उनले बताएका छन् ।

















