एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको विषयमा बढ्दै विवाद, काठमाडौंमा छलफल

Image
maya metro

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको विषयमा बढ्दै गएको आन्तरिक विवाद समाधान गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली ले प्रदेश सभा सदस्यहरूलाई काठमाडौं बोलाएका छन्।

ओलीको बोलाहटमा संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल सहित सुदूरपश्चिमका सबै ११ जना प्रदेश सभा सदस्य काठमाडौं पुगेका छन्। उनीहरूबीच देखिएको विवाद समाधानका लागि बुधबार भक्तपुरको गुण्डुमा छलफल तय गरिएको छ।

nisarga

एक प्रदेश सभा सदस्यका अनुसार प्रारम्भिक रूपमा बिहान ११ बजेका लागि बैठक बोलाइएको जानकारी आए पनि औपचारिक समय अझै टुंगो लागेको छैन।

सुदूरपश्चिम एमालेभित्र लामो समयदेखि संसदीय दलका नेता रावलको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त हुँदै आएको छ। दलभित्रैबाट नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठ्दै आएको र पछिल्लो समय त्यो अझ तीव्र बनेको देखिन्छ।

प्रतिनिधि सभाको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रदेशका नेता तथा सांसदहरूको टोलीले छुट्टाछुट्टै रूपमा अध्यक्ष ओलीलाई भेटेर रावललाई दल नेताबाट हटाउनुपर्ने माग राखेका थिए। उनीहरूले सकेसम्म सहमतिमै नेतृत्व परिवर्तन गर्नुपर्ने, अन्यथा संसदीय दलभित्र लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेता चयन गर्न दिनुपर्ने अडान लिएका छन्।

प्रदेशस्तरीय नेतापछि उपनेता सन्तोष शर्मा थापा सहितका केही सांसदले पनि हालै गुण्डु पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा दल नेता परिवर्तनसँगै प्रदेश सरकारमा मन्त्री हेरफेर गर्नुपर्ने एजेन्डा समेत उठाइएको छ।

हाल दलको नेताका लागि उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र प्रदेश सभा सदस्य धर्मराज पाठक बीच प्रतिस्पर्धा देखिएको छ। थापा र मल्ल एमालेका केन्द्रीय सदस्य हुन् भने पाठक पूर्व प्रदेश सचिव रहिसकेका छन्।

वर्तमान दल नेता रावल भने पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए। त्यतिबेला थापा, मल्ल र रावल तीनै जनाले अध्यक्ष ओली निकट प्यानलबाट उम्मेदवारी दिएका थिए।

अब गुण्डुमा हुने छलफलले सुदूरपश्चिम एमाले संसदीय दलको नेतृत्व विवाद टुंग्याउने अपेक्षा गरिएको छ।