बडेहाँ बिजौरा खानेपानीको दोस्रो साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ मा रहेको बडेहाँ बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो  साधारण सभा सम्पन्न भएको छ ।

शनीबार संस्थाका अध्यक्ष चेतराज पन्तको सभाअध्यक्षतामा भएको साधारण सभामा सुदूरपश्चिम प्रदेशका अर्थ विकास राज्यमन्त्रि प्रकाश बहादुर बम प्रमुख अतिथि रहेका थिए ।

nisarga

बमले कार्यक्रममा बोल्दै बडेहाँ बिजौरा खानेपानीका लागि आवश्यक रकम विनियोजन गर्न पहल गर्ने बताए । यस क्षेत्रमा आफ्नो कार्यकालमा थुप्रै योजनाहरु हाल्न सफल भएको उनले बताए ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवक्ता गोपालदत्त भट्टले संस्थालाई अगाडि बढाउन उपभोक्ताहरुको सहयोग र सुझाव संधै आवश्यक रहने बताए ।

उनले केहि आन्तरिक विवाद भए सहमतिमै टुंग्याउन आग्रह गरे । त्यस्तै संस्थाका अध्यक्ष चेतराज पन्तले आफू निस्वार्थ भावनाले संस्थाका निम्ति खटिरहेको बताए ।

संस्थाका उपाध्यक्ष गीरीराज भण्डारीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव उत्तम महराले गरेका थिए ।

संस्थालाई विभिन्न पक्षमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो उक्त कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिसहित उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

सभामा अध्यक्ष पन्तले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने संस्थाकी कोषाध्यक्ष चित्रा कुमारी भट्टले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।

२०७५ सालमा स्थापना भएको संस्थामा हाल वडा नम्बर १ र ६ का गरी करिब ९०० उपभोक्ताहरु रहेका छन् ।