बाजुरामा धमाधम सुक्दै पानीका नाउला

Image
maya metro

बाजुरा – बाजुराका विभिन्न स्थानमा रहेका पानीका नाउला धमाधम सुक्न थालेका छन् । यहाँका पुराना पुस्ताले खानेपानीका रूपमा प्रयोग गर्दै आएका नाउला पछिल्लो समय सुक्न थालेपछि नयाँ पुस्तामा समेत चिन्ता बढेको छ ।

बुढीनन्दा नगरपालिकाका स्थानीय दत्त विकले गाईभैंसीको गोठमा आफू तथा पशुचौपायालाई पानी खुवाउन सहज हुने नाउला अहिले धमाधम सुक्न थालेको बताए ।

nisarga

उनले भने, “माथि लेकमा खर्क छन् । गाईभैंसी लेकमा लगेका बेला हामीले पुराना पुस्ताले प्रयोग गर्दै आएका नाउलाको पानी खाने गर्थ्यौँ ।” अहिले ती नाउला सुक्न थालेपछि गाईगोरुलाई समेत पानी खुवाउन समस्या हुने गरेको विकले बताए ।

यो समस्या एउटा क्षेत्रको मात्र नभई जिल्लाका नौवटै स्थानीय तहका स्थानीयले भोगिरहेको उनको भनाइ छ ।

लेक तथा खर्कमा भेडाबाख्रा र गाईभैंसी चराउन लैजाँदा त्यहाँ रहेका नाउलाबाट पानी खान सहज हुने गरे पनि अहिले अधिकांश नाउला सुक्न थालेपछि खर्कमा बस्नेहरूलाई समेत खानेपानीको समस्या हुन थालेको छ ।

गाउँमा जथाभावी सडक खन्नु तथा बाढीपहिरोका कारण धेरै पानीका मुहान सुक्दै गएको स्थानीयको भनाइ छ ।

सडक निर्माणका क्रममा डोजरले जमिन थर्काउने र त्यसपछि पहिरो जाने भएकाले पनि पानीका नाउला सुक्दै गएको पुराना पुस्ताले बताएका छन् ।

जिल्ला वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द्र डिसीले अनावश्यक सडक विस्तार र वनजंगल फँडानीका कारण पानीका स्रोत क्रमशः सुक्दै गएको बताए ।