धनगढीमा १४५ ग्राम ‘ब्राउन सुगर’ (लागुपदार्थ) सहित युवक पक्राउ

Image
maya metro

धनगढी – धनगढीमा प्रहरीले १४५ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

लागू पदार्थ नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा युवकलाई नियन्त्रणमा लिएको हो।

nisarga

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ निवासी २७ वर्षीय निराजन ठकुल्ला रहेका छन्। उनलाई धनगढी–८ अन्तर्गत जुगेडा सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमल्सिनाका अनुसार बिहीबार दिउँसो करिब १२ः४५ बजे शङ्काको आधारमा चेकजाँच गर्ने क्रममा ठकुल्लाको साथबाट ब्राउन सुगर जस्तो देखिने १४५ ग्राम धुलो पदार्थ फेला परेको हो।

प्रहरीका अनुसार विशेष सूचनापछि संयुक्त टोली परिचालन गरिएको थियो। सो क्रममा सडक क्षेत्रमा हिँडिरहेका ठकुल्लामाथि शङ्का लागेपछि खानतलासी गर्दा उक्त पदार्थ बरामद गरिएको जनाइएको छ।

पछिल्लो समय कैलाली जिल्लामा लागू पदार्थको ओसारपसार तथा प्रयोगका घटना बढ्दै गएपछि प्रहरीले निगरानी र नियन्त्रण अभियानलाई तीव्र बनाएको छ।