
सुदूरपश्चिमको तराई र पहाडलाई जोड्ने एक मात्र सडक भीमदत्त राजमार्ग स्तरोन्नतिको काम ठप्प भएको छ । इन्धनको मूल्य बढेको र कालोपत्रेका लागि बिटुमिन (अलकत्रा)को अभाव भएको भन्दै एक महिनायता काम रोकिएको हो ।
स्तरोन्नतिअन्तर्गत कैलालीको गोदावरीदेखि सहजपुरसम्म ३१ किलोमिटर सडकमा कालोपत्रे थप्न थालिएकामा २५ प्रतिशत मात्र काम भएको छ । यही ३१ किलोमिटरभित्र गोदावरी नगरपालिकाको बुढीतोलामा पहिरोले बगाएको ३४० मिटर सडक कालोपत्रे गर्नुपर्ने छ ।

आगामी २० असारभित्र स्तरोन्नति गरिसक्नेगरी सडक डिभिजन कार्यालय कञ्चनपुरले गत ११ पुसमा राजधानी कन्स्ट्रक्सनसँग ६ करोड ९५ लाख लागतमा सम्झौता गरेको थियो । तर, अहिलेसम्म भौतिक प्रगति २५ प्रतिशतमात्र रहेको र एक महिनादेखि काम रोकिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख राकेशकुमार यादवले बताए । ‘ठेक्का लिएपछि जसरी पनि काम गर्नु पर्यो भनेर हामीले ताकेता गरिरहेका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले महङ्गी र सामान अभावका कारण देखाएर काम रोकेको छ ।’
कालोपत्रेमाथि कालोपत्रे थप्ने ‘ओभर ले’ गर्ने र पहिरो गएको ठाउँमा सडक कालोपत्रे गर्ने ठेक्का रहेको उनले बताए । सडक डिभिजन कार्यालयका अनुसार अहिले काम ठप्प रहेको र आर्थिक वर्ष सकिन थोरै समय बाँकी रहेकाले यस वर्ष काम पूरा नहुने देखिएको छ । यो राजमार्गका धेरै ठाउँमा खाल्डाखुल्डी र टुटफुट भएको छ । ३१ किलोमिटर लामो खण्डमा कालोपत्रे थपिए यात्रुलाई आवतजावतमा निकै सहज हुने छ ।
निर्माण कम्पनीका प्रतिनिधि प्रकाश धामीले कालोपत्रेका लागि चाहिने बिटुमिन नपाइएकाले काम रोक्नु परेको बताए । उनले इन्धनमा भारी मूल्य वृद्धि भएपछि ढुवानी लागत पनि निकै बढेको बताए । ‘बिटुमिनको मूल्य दोब्बरभन्दा बढी पुगेको छ, त्यो पनि पाइएको छैन । इन्धनको मूल्य बढेपछि ढुवानी लागत पनि दोब्बर पुगेकोले काम रोक्नुपर्ने बाध्यता भएको हो,’ धामीले भने, ‘अब थोरै समय रहेकाले यस वर्ष काम सकिदैन, म्याद थपको माग गर्छौँ ।’
आपूर्तिकर्ताले बिटुमिन दिन नसकेर आफूहरूले दिएको रकम पनि फिर्ता गरिदिएको उनले बताए । इन्धन र बिटुमिनको मूल्य झण्डै दोब्बर पुगे पनि सरकारले मूल्य समायोजन नगरिदिएको निर्माण कम्पनीको गुनासो छ ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये सातवटा पहाडी जिल्लालाई तराइका दुई जिल्ला कैलाली, कञ्चनपुरसँग जोड्ने एकमात्र राजमार्ग हो । पहाडी जिल्ला जोड्ने अन्य सडक निर्माणाधीन भए पनि कालोपत्रे भएका छैनन् ।
मूल्य वृद्धि र निर्माण सामग्रीको अभावले कैलाली र कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्ग पटके मर्मतको काम पनि प्रभावित भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् इन्जिनियर हरिसप्रसाद जोशीले बताए । उनका अनुसार दुई जिल्लामा पर्ने राजमार्गको एक सय २७ किलोमिटर खण्डमा पाँचवटा खण्डमा पटके मर्मतको काम भइरहेको थियो ।
हालसम्म एउटा खण्डको काममात्र पूरा भएको इन्जिनियर जोशीले जानकारी दिए । निर्माण सामग्रीको अभाव कायम रहे राजमार्ग पटके मर्मतको काम पनि यस वर्ष पूरा नहुनसक्ने उनले बताए । ‘८/१० दिनमै सकिने काम हो, हेरौँ, अझै समय बाँकी छ’ जोशीले भने ।
तीन वर्षअघि पहिरोले बगाएको सडक कालोपत्रे भएन
राजमार्गअन्तर्ग गोदावरी नगरपालिको बुढीतोलामा पहिरोले तीन वर्षअघि बगाएको ३४० मिटर सडक अझै कालोपत्रे भएको छैन । राजमार्ग स्तरोन्नतिको ठेक्काअन्तर्गत यो खण्ड पनि कालोपत्रे गरिनुपर्ने हो । तर, निर्माण सामग्रीको अभाव भएको भन्दै काम रोकिएकाले यो खण्ड यस वर्ष पनि कालोपत्रे नहुने देखिएको छ ।
साउन ०८० मा बुढीतोलामा ठूलो पहिरो आएर सडक बगाएपछि केही दिन राजमार्गनै बन्द भएको थियो । त्यसयता उक्त खण्डमा बर्खामा हिलो र अरुबेला धुलोले यात्रुले सास्ती खेप्दै आएका छन् । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पहिरोपछि प्राविधिकले गरेको अध्ययनमा जमिनमुनि पानीको मुल रहेकाले उक्त क्षेत्रमा सडक बनाउनु उपयुक्त देखिएको थिएन ।
अहिले जमिनमुनि पोखरी बनाएर उक्त क्षेत्रमा सडक बनाउन मिल्ने बनाइएको डिभिजन प्रमुख राकेशकुमार यादवले बताए । पानीको चुहावट नहोस् भनेर मुलको पानी संकलन गर्न जमिनमुनि ५० फिट गहिराइका पाँचवटा इनार बनाइएका छन् । इनारमा जम्मा हुने पानी पाइपबाट भित्रभित्रै तल फालिएको उनले बताए ।
त्यस्तै उक्त क्षेत्रमा पहिरो नियन्त्रणका काम पनि गरिएको सडक डिभिजनले जनाएको छ । पाँच करोड रुपैयाँ लागतमा इनार निर्माण र पहिरो नियन्त्रणका काम गत वर्ष सकिएको डिभिजन प्रमुख यादवले बताए । यही बाटो भएर कैलाली, कञ्चनपुरबाट पहाडी जिल्ला डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, दार्चुला र बझाङ जान तथा त्यहाँबाट तराइ आउन दैनिक दर्जनौँ सवारी साधन सञ्चालन हुन्छन् ।















