
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा प्रथम मेयर कप खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ।
सैपाल युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको आइतबार गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले उद्धघाटन गरेकी हुन् ।

उद्धघाटन कार्यक्रममा बोल्दै उप प्रमुख रोकायाले खेलाडी महिलाहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताइन् ।
खेलाडी महिलाहरुका लागि खेलहरु न्यून आयोजना हुने हुँदा उनीहरुले आफ्नो क्षमता प्रर्दशन गर्ने अवसर नै नपाइरहेको आफूलाई महसुस भएको भन्दै उनले खेलाडी महिलाहरुका लागि खेलकुदका कार्यक्रमहरु राख्न जरुरी रहेको बताइन् ।

रोकायाले खेलबाट आफू र राष्ट्र दुवैको नाम राख्दै आर्थिक आम्दानीसमेत राम्रो गर्न सकिने भएकोले खेलकुदमा सक्रिय रहन खेलाडी महिलाहरुलाई आग्रह गरिन् ।
सैपाल युवा क्लबले महिलाहरुका लागि प्रतियोगिता आयोजना गरेर उदाहरणीय कार्य गरेको उनले बताइन् ।
सैपाल युवा क्लबका अध्यक्ष रमेश बोगटीले आर्थिक स्रोत नहुने हुँदा खेलकुद आयोजना गर्ने कार्य क्लबहरुलाई चुनौतीपुर्ण भएको बताए ।
स्थानीय सरकारले खेलक्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
सैपाल युवा क्लबको खेल मैदान जारी प्रतियोगितामा कैलालीका १२ वटा टिम सहभागी रहेका छन् ।
प्रतियोगितामा विजयी हुने टिमले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुने टिमले ५५ हजार ५५५ प्राप्त गर्नेछ ।

त्यस्तै उत्कृष्ट खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।
महिला खेलाडीको सम्मान, स्वस्थ समाज निर्माणको अभियान भन्ने नारासहित सुरु भएको प्रतियोगिता जेठ ३० गतेसम्म चल्नेछ ।
प्रतियोगितामा गोदावरी नगरपालिकाको मुख्य सहयोग रहेको छ भने विभिन्न संघ संस्था तथा व्यक्तिहरुले पनि सहयोग गरेका छन् ।
आज भजनी र बागमारा क्लबबिच पहिलो खेल सम्पन्न भएको छ ।















