
काठमाडौं – देशका केही स्थानमा तातो दिन हुँदा केही स्थानमा भने वर्षा हुनेछ । हिमाली र पहाडी भूभागमा मध्यमसम्मको वर्षाको सम्भावना छ । तराईमा तातो हावाको लहर चल्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपात हुनेछ ।
लुम्बिनी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ ।
मधेससहित बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा मधेस र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।












