स्याउ खेतीतर्फ आकर्षित हुँदै बाजुराका किसान

Image
maya metro

बाजुरा – बाजुराका अधिकांश किसान पछिल्लो समय स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन्।

जिल्लाका अधिकांश दुर्गम बस्ती सडक सञ्जालसँग जोडिएपछि स्याउ उत्पादन तथा बजारीकरण सहज बन्दै गएको छ। यससँगै किसानको स्याउ खेतीप्रतिको चासो पनि बढ्दै गएको हो। जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका तथा जगन्नाथ गाउँपालिकालगायतका क्षेत्रमा स्याउ खेती राम्रो हुने गरेको छ।

nisarga

पहिले गाउँबस्ती सडक सञ्जालको पहुँचमा नहुँदा उत्पादन भएको स्याउ बजारसम्म पु¥याउन कठिन हुने भएकाले किसानको स्याउ खेतीप्रति खासै रुचि थिएन। तर अहिले अधिकांश गाउँबस्ती सडक सञ्जालसँग जोडिएपछि उत्पादन भएको स्याउ बगैँचाबाटै बिक्री हुन थालेको छ। यसले किसानलाई स्याउ खेतीतर्फ थप आकर्षित गरेको छ।

बुढीनन्दा नगरपालिकाका स्थानीय चक्रबहादुर कठायतले स्याउ खेतीबाट राम्रो आम्दानी हुने देखेपछि व्यावसायिक रूपमा खेती सुरु गरेको बताए। उनले भने, “पहिला थोरै स्याउका बिरुवा लगाएको थिएँ। अहिले त्यसलाई व्यावसायिक खेतीका रूपमा विस्तार गर्दै सात सयभन्दा बढी बिरुवा रोपेको छु।”

हाल ती बिरुवाले राम्रो उत्पादन दिन थालेको उहाँको भनाइ छ। अन्नबालीभन्दा स्याउ खेतीबाट परिवार पाल्न र आयआर्जन गर्न सहज भएको उनले बताए। कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा हाल करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार गत वर्ष जिल्लामा दुई हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको थियो। त्यसमध्ये करिब ६ सय मेट्रिक टन स्याउ जिल्लाबाहिर बिक्री गरिएको थियो।

उनले भने, “पहिले स्थानीय जातका स्याउ मात्र उत्पादन हुन्थे। अहिले फुजी, गाला र गोल्डेन जातका स्याउसमेत उत्पादन हुन थालेका छन्।” बाजुराको हावापानी र माटो स्याउ खेतीका लागि उपयुक्त भएकाले उत्पादनको सम्भावना उच्च रहेको साहनीले बताउनुभयो। स्याउ खेतीबाट किसानको आयआर्जन बढ्ने देखिएकाले कृषि ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गरी नयाँ बिरुवा वितरण, प्राविधिक सहयोग तथा बजारीकरणका लागि अनुदानको व्यवस्था गर्दै आएको उनले जानकारी दिए।

(गोरखापत्रबाट)