निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको ८ वर्ष पुरा हुँदै छ।

कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ मा हत्या भएको थियो। घटना भएको ८ वर्ष पुरा हुँदै गर्दा प्रहरी प्रधान कार्यालयले त्यसबारे अनुसन्धान गर्न फेरी उच्चस्तरको समिति गठन गरेको छ।

nisarga

आईजीपी दानबहादुर कार्कीले अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेका हुन्। यसअघि गठन भएका समितिहरूले नतिजा दिन सकेका थिएनन्।

१३ बर्षिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले यसअघि डीएनए जाँचलाई मुख्य ‘अनुसन्धान विधि’को रूपमा प्रयोग गरेको थियो। अहिलेसम्म १२३ जना भन्दा धेरै शंकितहरुको डीएनए परीक्षण गरिएको छ। तर, डिएनए म्याच नहुँदा अनुसन्धानको नतिजा आएको छैन।

अनुसन्धानलाई निरन्तरता दिन एसएसपी पंगेनीको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए। उनले भने, ‘समितिले काम गरिरहेको छ।’ पंगेनी नेतृत्वको समितिमा आईजीपीको सचिवालयमा कार्यरत डीएसपी हरि खतिवडा र सीआईबीका एकजना इन्स्पेक्टर सहितका अधिकृतहरू छन्। सीआईबीले यसअघि पनि लामो समय निर्मला पन्तबारे अनुसन्धान गरेको थियो। प्रहरी प्रधान कार्यालयले अनुसन्धान समितिका सदस्यहरूलाई कञ्चनपुरमा पठाएर अनुसन्धान गरिरहेको छ।