छ वर्षसम्म पनि बनेन बिओपी

Image
maya metro

दार्चुला – भारतसँग सीमा जोडिएको व्यास गाउँपालिका–१ मा पर्ने कौवा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुन नसक्दा कौवा क्षेत्रको वनमा चोरीसिकारी तथा तस्करीका घटना बढिरहेका छन् ।

सीमाको सुरक्षा तथा चोरीसिकारी तथा तस्करी नियन्त्रण गर्न तल्लो कौवा क्षेत्रमा सशस्त्र प्रहरीको (बिओपी) स्थापना गर्न अति आवश्यक रहेको भन्दै दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले छ वर्षअघि २०७७ साउन १३ गते निर्णयसहित जग्गा प्राप्तिका लागि गृह मन्त्रालय तथा तालुक कार्यालयमा दुई पटक लेखापढी भइसकेको छ ।

nisarga

दोस्रो पटक २०७८ साउन १५ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले पनि (बिओपी) स्थापनाका लागि निर्णयसहित गृह मन्त्रालयमा पत्र पठाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति गुणराज न्यौपानेले जानकारी दिए ।

सीमाको सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्न तल्लो कौवा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना अति आवश्यक रहेको व्यासका स्थानीय दीपक खातीले बताए । सरकारले कौवा क्षेत्रमा (बिओपी) स्थापना गरी त्यहाँ बस्ने सुरक्षाकर्मीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सके सीमाक्षेत्रमा हुने अवैध चोरीसिकारी तथा तस्करी नियन्त्रण गर्न सकिने उनको धारणा छ ।

सो ठाउँमा (बिओपी) स्थापनका लागि व्यास गाउँपालिकाले जग्गा उपलब्ध गराइसकेको छ, भने जग्गा नामसारी गर्ने प्रक्रियासमेत पनि सुरु भएको गणपति न्यौपानेले बताए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङरुका गुल्मपति फणीन्द्रबहादुर शाहीका अनुसार अहिले कौवा क्षेत्रमा सशस्त्र प्रहरीको नियमित गस्ती हुने गरेको छ । सशस्त्र प्रहरी गस्ती गएका बेला गत वैशाख महिनामा कौवा क्षेत्रबाट रुख काट्न प्रयोग हुने मेसिन (चैन–स) दुई थान फेला पारेको उनले बताए ।

सशस्त्र प्रहरीको टोली देखेपछि भागेका तस्करले एकअर्कालाई सम्पर्क गर्न प्रयोग गर्ने दुई थान बेवारिसे वाकीटाकी सेटसमेत बरामद गरेको उनले जानकारी दिए ।