
कञ्चनपुर – कञ्चनपुरमा भरुवा बन्दुक र लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार राति करिब ११ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकवार र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ पिपरियास्थित जोकराज रानाको घरमा खानतलासी गरेको थियो।

गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा कोठाभित्र लुकाइराखिएको एक थान भरुवा बन्दुक, ०.७८ ग्राम हेरोइन, ८० ग्राम गाँजा, विभिन्न कम्पनीका ८ थान स्क्रिन टच मोबाइल र २ थान कीप्याड मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा कृष्णपुर नगरपालिका–१ का जोकराज राना र उनकी श्रीमती जानकी रानालाई पक्राउ गरिएको छ।
प्रहरीले बरामद भएका सामान नियन्त्रणमा लिई दुवै जनाविरुद्ध लागूऔषध तथा हातहतियारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
















