
दार्चुला – दार्चुलाका दुई हजार १६६ जनाले यस वर्ष यार्चागुम्बा टिपेका छन् । दार्चुलावासी यसैबाट वर्षभरिको घरखर्च, बालबालिकाको पालनपोषण र विद्यालय खर्चको जोहो गर्ने गर्छन् । हिउँदमा बाक्लो हिमपात भएको पाटनमा हिउँ पग्लिन थालेपछि वैशाख दोस्रो साता यार्चागुम्बा टिप्न स्थानीयवासी लेकतिर गएका थिए ।
विगतका वर्षभन्दा यस वर्ष यार्चागुम्बाको उत्पादन घटेको यार्चागुम्बा सङ्कलक एवं नौगाड गाउँपालिकाका स्थानीय नरेन्द्रबहादुर बम बताउँछन् । व्यास गाउँपालिका–१, बुदी कुन्तीसाँउ वनमा यार्चागुम्बा सङ्कलन गर्नुभएका बम भन्छन्, “सेतो गुराँस (चिमल) को अत्यधिक दोहन भइरहेकाले यार्चागुम्बाको उत्पादन घटिरहेको छ । चिमल यार्चागुम्बा उत्पादनको प्रमुख स्रोत मानिन्छ ।’’

सेतो गुराँसको संरक्षण गर्न अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी अरुण चौधरीका अनुसार यस वर्ष करिब आठ क्विन्टल यार्चागुम्बा सङ्कलनको लक्ष्य रहेको छ । हालसम्म ४१.७५५ किलोग्राम यार्चागुम्बा निकासी भएको तथा १२ लाख ९४ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
उनले सातुसामलसहित वैशाखको दोस्रो साता यार्चागुम्बा पाइने पाटनमा गएका सङ्कलक फर्किने तयारीमा रहेको बताए । दार्चुलाको लोलु, अपिफेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, नाम्पा, दोपाखेलगायत पाटनमा यार्चागुम्बा पाइन्छ । दार्चुलाको हिमाली जीवनमा यार्चागुम्बा केवल एउटा जडीबुटी मात्र होइन, जीवन धान्ने आधार पनि हो ।














