
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ ।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए । गणेशका दाइ मदनले अस्पतालले भाइको निधन भएको जानकारी दिएको बताए । अस्पतालले भने निधनको औपचारिक घोषणा गर्न बाँकी छ ।

प्रधानमन्त्रीको सचिवालयका सल्लाहकारसहित दुई जना अस्पतालमा मृतक परिवारसँग समन्वय गरिरहेका छन् । हालै नियुक्त न्याम्सका पदाधिकारीहरु कुलपति, रेक्टर, रजिस्ट्रार र अस्पतालका निर्देशकसँग पनि उनीहरु छलफलमा रहेको अस्पतालका एक कर्मचारीले बताए । अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।
















