
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीले शिक्षकहरुका लागि क्षमता अभिवृद्धी तालिमको आयोजना गरेको छ ।
चालु शैक्षिक सत्रको सुरुवातदेखि नै विषयगत शिक्षकहरुका लागि छुट्छुट्टै चरणमा क्षमता अभिवृद्धी तालिमको आयोजना गर्दै आएको विद्यालयले आज सामाजिक शिक्षाका विषयगत शिक्षकहरुका लागि क्षमता अभिवृद्धी तालिम सम्पन्न गरेको हो ।

तालिममा सैनिक महाविद्यालय तेघरीका १३ जना तथा कैलाली र कञ्चनपुरका विभिन्न पालिका भित्रका निजी विद्यालयका ४ जना, सरकारी विद्यालयका २ जना र संस्थागत विद्यालयहरु नेपाल पुलिस स्कुल धनगढी र एपीएफ स्कुल झलारीका १/१ जना सहभागी रहेका थिए।
प्रविधिमैत्री शिक्षण तथा प्रयोगात्मक सिकाईमार्फत शिक्षण पद्धतिमा एकरुपता र गुणस्तर सुधार गर्न तालिम लाभदायक हुने अपेक्षासहित तालिमको आयोजना गरिएको महाविद्यालयले जनाएको छ।
सुरक्षा निकायका विद्यालयको अनुशासन, निजी विद्यालयहरूको आधुनिक व्यवस्थापन र सरकारी निकायका विद्यालयका समस्याबारे पनि उक्त कार्यक्रमले सामूहिक दृष्टिकोणको विकास गर्ने बताइएको छ ।
तालिमले शिक्षकहरूबीच बलियो पेशागत सम्बन्ध निर्माण भई व्यवहारिक शैक्षिक समस्याहरू समाधान गर्न मद्दत पुग्नुका साथै विद्यालयहरुबिच संस्थागत सम्बन्ध कायम गर्न सहयोग पुग्ने तालिममा सहभागी शिक्षकहरुले बताएका छन् ।
तालिमको मुख्य प्रशिक्षकका रुपमा धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश भट्ट रहेका थिए ।
सैनिक आवासीय महाविद्यालय तेघरीले चालु शैक्षिक सत्रमा गणीत, विज्ञान, नेपाली विषयका विषयगत शिक्षकहरुका लागि पनि क्षमता अभिवृद्धी तालिमको आयोजना गरिसकेको छ ।















