जालीनादेवी मृत्यु प्रकरण : कुटपिटका आरोपित १० दिनमै रिहा भएपछि परिवारको आपत्ति

Image
maya metro

अत्तरिया – महिलामाथि कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ७ जना १० दिनमै रिहा भएपछि आफन्तहरुले आपत्ति जनाएका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर-३ स्थित कुचैनीकी ५२ वर्षीय जालीनादेवी चौधरीमाथि बोक्सीको आरोप लगाउँदै गत असार ३२ गते राती उनका माइती पक्षले कुटपिट गरेका थिए ।

nisarga

मृतककी आफन्त (बुहारीकी बहिनी) माया चौधरीका अनुसार ३२ असारको राति चामल र नुन बोकेर सरिता थरुनीको घर अगाडि पुगेकी जालिनादेवीमाथि उनका छिमेकी र परिवारका सदस्यले लछारपछार गर्दै कुटपिट गरेका थिए ।

मायाका अनुसार नजिकै रहेको शौचालयमा लुकेको अवस्थामा समेत उनीहरुले सब्बलले शौचालयको ढोका फुटाउँदै बाहिर निकालेर जालीनादेवीलाई फेरि कुटपिट गरेका थिए ।

अबेर राती गम्भीर अवस्थामा घर फर्केकी जालीनाको साउन १ गते बिहान ४ बजे घरमै मृत्यु भएको थियो । मृतकका परिवारले सावन २ गते दिएको किटानी जाहेरीका आधारमा सरितासहितका ४ जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान अघि बढाएको थियो । त्यसपछि अनुसन्धानका क्रममा थप ३ जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका मध्य २ जना नाबालक रहेका थिए । प्रहरीले उनीहरु सातै जनामाथि ज्यान सम्बन्धि कसुरमा अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिलमार्फत अदालत पेश गरेको थियो ।

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा अभियोग पुष्टि नभएको भन्दै सावन १३ गते ५ जनालाई प्रतिव्यक्ति १ लाख १० हजार धरौटीमा छोडेको थियो भने दुई जना नाबालकहरुलाई आफन्तको जिम्मा लगाएको थियो ।

ज्यान सम्बन्धि कसुरजस्तो जघन्य अपराधमा पक्राउ परेकाहरु १० दिनमै रिहा भएपछि पिडित परिवारले आपत्ति जनाएका छन् । आज अत्तरियामा पत्रकार सम्मेलन गर्दै उनीहरुले पिडक पक्ष बलियो भएका कारण अदालतले समेत आफूहरुलाई न्याय नदिएको गुनासो गरेका छन् । मृतकका श्रीमान राजेन्द्र चौधरीले आफूमाथि अन्याय भएको बताए ।

ससुराली पक्षले बोक्सी भन्दै श्रीमतीमाथि लछारपछार गर्दै कुटपिट गरेको उनले बताए । गम्भीर अवस्थामा घर फर्किएकी श्रीमतीले बिहान ४ बजे आफूसंग कुरा गर्दै ४/५ जनाले आफूलाई निर्घात कुटपिट गरेकाले ‘मरिहाल्छु की’ भनेको र ६ बजेतिर उठाउँदा मृत भेटेको उनको भनाई छ । कुटपिटबाटै श्रीमतीको हत्या भएको भन्दै उनले कुटपिट गरी हत्या गरेका व्यक्तिहरु १० दिनमै छुटेर समाजमा खुलेयाम हिँडिरहेको देख्दा आफू त्रशित भएको बताए ।

मृतककी आफन्त मायाले अदालत कसैको प्रभावमा परेर न्याय मार्न नहुने बताइन् । बोक्सीको आरोपमा लछारपछारसहित कुटपिट गरेको प्रमाण प्रहरीलाई बुझाँउदा समेत प्रमाण पुगेन भन्दै रिहा गर्नु आपत्तिजनक भएको उनले बताइन् । प्रहरी अनुसन्धानदेखि पोस्टमार्टम रिपोर्टसम्म मिलेमतो भएको उनको दावी छ ।

“सामान्य झैझगडाको केशमा त २४ दिन थुन्ने प्रहरीले ज्यान सम्बन्धि कसुरका आरोपितहरुलाई १० दिनमै कसरी छोड्यो? त्यसैले यहाँ प्रहरी अनुसन्धानदेखि पोस्टमार्टम रिपोर्टसम्म मिलेमतो भएको छ । उनले भनिन् ।”

“हामी न्यायिक प्रक्रियामाथि विश्वास गर्छौँ, उनले भनिन्,अदालतको सम्मान गर्छौँ तर अदालतले कसैको दवाव र प्रभावमा नपरेर न्याय सम्पादन गर्नुपर्दछ । वर्तमान सरकारले यस्ता घटनालाई गम्भीर रुपमा लिनुपर्छ ।”

मृतककी बुहारी रमीला चौधरीले अभियुक्तहरुलाई रिहा गर्दा पिडित पक्षलाई अदालतले जानकारी नै नगराएको बताइन् । हत्यामा संलग्न व्यक्तिहरुले उल्टै आफूहरुलाई धम्की दिने कार्य गरिरहेको उनले बताइन् । घटनाको सुक्ष्म अनुसन्धान नभए न्यायका लागि संर्घषका कार्यक्रम अगाडि बढाउने उनीहरुको भनाई छ ।

अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महराले आफूहरुले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलमार्फत अदालत पेश गरेको र अदालतको आदेश अनुसार उनीहरु धरौटीमा छुटेको बताएका छन् । घटनाका आरोपितहरुमा नाबालक र बिरामी महिला पनि रहेका कारण आफूहरुले सो को समयसिमाभित्र घटनाको प्रतिवेदन पेश गरेको उनले बताएका छन् । 

अदालतको निर्णयमाथि चित्त नबुझे पिडित पक्षसंग कानुनी प्रक्रियाका अरु विकल्प पनि रहेको उनको भनाई छ । उनकाअनुसार पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि भिसेरा परिक्षणका लागि नमूना नेपालगञ्ज पठाइएको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले थप प्रमाण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।