
धनगढी – सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्परालाई हास्य–व्यंग्यसँग जोड्दै सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को टिकट प्रायोजनमा ज्योति आयल स्टोर धनगढी–१५ जोडिएको छ। आयल स्टोरका प्रोप्राइटर जय ठाकुरले कार्यक्रमलाई टिकट प्रायोजनमार्फत सहयोग गर्ने भएका छन्।
बैजनाथ सञ्चार प्रालिको आयोजनामा आगामी भदौ १७ गते धनगढीस्थित एस।टी।एस। सिनेमा हलमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारसँगै वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेताहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। पहिलो संस्करणबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि यस वर्ष कार्यक्रमलाई थप व्यवस्थित, मनोरञ्जनात्मक र सामाजिक सन्देशमूलक बनाउने तयारी गरिएको छ।

कार्यक्रममा व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुतिका साथै लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता समसामयिक विषयलाई हास्य–व्यंग्यमार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
ज्योति आयल स्टोर धनगढी–१५ का प्रोप्राइटर जय ठाकुरले सुदूरपश्चिमको कला, संस्कृति र स्थानीय प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा निजी क्षेत्रको समेत भूमिका रहने बताए।
गाईजात्राजस्तो मौलिक सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै हास्य–व्यंग्यमार्फत सामाजिक विकृति र विसंगतिमाथि सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम भएकाले आफूहरूले सहयोग गरेको उनको भनाइ छ।
“सुदूरपश्चिमको कला, संस्कृति र स्थानीय प्रतिभालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रम आवश्यक छन्। मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश दिने उद्देश्य बोकेको कार्यक्रममा आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा खुसी लागेको छ,” ठाकुरले भने।
कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले यस वर्षको गाईजात्रा कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने गरी तयार पारिएको बताए।उनका अनुसार कार्यक्रम सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। पहिलो संस्करणबाट प्राप्त अनुभवका आधारमा यसपटक कलाकारको प्रस्तुति, कार्यक्रम व्यवस्थापन, विषयवस्तु छनोट र दर्शकको सहभागितालाई थप प्रभावकारी बनाउने तयारी गरिएको उनले जानकारी दिए।
“यसपटक दर्शकलाई मनोरञ्जन मात्रै होइन, समाजमा देखिएका विकृति र समसामयिक विषयमाथि सोच्न बाध्य बनाउने सन्देश पनि दिने हाम्रो प्रयास हो। पहिलो संस्करणबाट सिकेका कुरालाई समेट्दै कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदैछौँ,” पाठकले भने।
कार्यक्रमकी मुख्य संयोजक सरस्वती कुमारी खड्का भट्टले सुदूरपश्चिमका कलाकारलाई सम्मानजनक मञ्च उपलब्ध गराउँदै प्रदेशको मौलिक भाषा, कला, संस्कृति र परम्परालाई राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।
उनका अनुसार ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मनोरञ्जनमा मात्रै सीमित नभई सामाजिक विकृति र समसामयिक विषयमाथि हास्य–व्यंग्यमार्फत बहस सिर्जना गर्ने तथा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने अभियानका रूपमा अघि बढाइनेछ। ज्योति आयल स्टोर धनगढी–१५ को टिकट प्रायोजन सहयोगले कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।
















