करोडौँ ठगीकी आरोपित बिना चौधरी अझै फरार, जेनजी आन्दोलनमा भागेकी थिइन् कैलाली कारागारबाट

Image
maya metro

अत्तरिया – करिब ३ करोड रुपैयाँ ठगी गरेको आरोप लागेकी कैलालीको गोदावरी-१ अत्तरियाकी बिना चौधरी योगी अझै पनि फरार रहेकी छिन् । उनी २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएकी थिइन् ।

झुटा प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट करिब ३ करोडभन्दा बढी रकम उठाएर फरार भएको आरोप उनीमाथि थियो । उनीविरुद्ध बैंकिङ कसुरमा दुईवटा उजुरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय मालाखेतीले उनलाई २०८२ जेठ २८ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

nisarga

अनुसन्धानपछि मुद्दा अदालतमा पुगेको र अदालतले चौधरीलाई र्पुपक्षका लागि असार २५ गते कैलाली कारागार चलान गरेको थियो । तर जेन्जी आन्दोलनका क्रममा कारागारबाट उनी फरार भएकी थिइन् ।

कारागारबाट फरार एक वर्ष पुग्न लाग्दा पनि उनी अझै पक्राउ परेकी छैनन् । कैलाली कारागार प्रशासनले बिना चौधरी योगी फरार सूचिमै रहेको बताएको छ ।

यता, ठगीका पीडितहरूले फरार आरोपितलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन तथा आफूहरूको रकम फिर्ता गराउन सम्बन्धित निकायसँग माग गरेका छन् । पीडित अत्तरियाकी व्यवसायी मधु पन्तले आफूले रातदिन नभनी दुख गरेर कमाएको करिब २९ लाख रुपैयाँ ठगीदा घर न घाटको भएको बताइन् ।

सम्बन्धित समाचार : संस्था सुरक्षित छ,कर्मचारीसंग गरिएको व्यक्तिगत कारोबारको जिम्मेवारी संस्थाले लिँदैन:अपि सैपाल

बिनावरुद्ध आफूले उजुरी पनि दर्ता गरेको भन्दै उनले स्थानीय सहकारीमा काम गर्नेक्रममा आफ्नो पसलमा बचत उठाउने गरेको र समय समयमा पैसा निकै आवश्यक परेकोले आफूलाई सहयोग गर्न आग्रह पर्दा सहकारीकै चेक काटेर पटकपटक रकम दिएको बताइन् ।

“उनीसंग मेरो चिनजान पनि थिएन, सहकारीकै कर्मचारी भएर आउँदा भेट भएको हो, पन्तले भनिन्, मैले दिनभरी कमाएको पैसा एक रुपैयाँ पनि आफूसंग नराखेर जम्मा गर्न दिन्थे तर उनले मलाई पैसाको निकै खाँचो पर्यो, सहयोग गर्नुपर्यो भनेर पटकपटक गरेर त्यहि सहकारीमा भएको पैसा मागिन् । मैले पनि विशवास गरेर कामै चलाउने त हो भनेर दिए अन्तिममा फरार भइन् ।”

रकम लिनुअघि विश्सावमा पार्न बिनाले अनेक बाहना र प्रलोभन देखाउने गरेको उनको भनाई छ । ठुलो रकम डुबेपछि आफू अहिले मानसिक तनावमा रहेको र औषधी सेवन गरिहेको पन्तले बताइन् ।

त्यस्तै अत्तरियाका भक्त बहादुर बुढामगरले छोराछोरीको नाममा जम्मा गरेको रकम बिनाले ठगेर फरार भएको बताए । सहकारीमै जम्मा गरेको रकम विश्वासमा पारेर चेक लगेको र रकम झिकेर बिना फरार भएको उनले बताए ।

सम्बन्धित समाचार : अत्तरियाबाट करोडौं रकम उठाएर फरार भएकी महिला पक्राउ

उनलाई पक्राउ गर्न प्रहरीले सुरु देखि नै उदासिनता देखाएको पीडितहरुको बुझाई छ । बिनाले आफू कार्यरत अपीसैपाल सहकारी बचत तथा ऋण सहकारीबाट पनि करिब ६ लाख रकम लिएकी थिइन् ।

उक्त रकम भने बिनाका दाइले आफूले तिर्ने भनिसकेको सहकारीका अध्यक्ष मेघराज भट्टले बताएका छन् । यद्यपी आफूहरुले पनि बिना फरार भएकै समयमा संस्थाका तर्फबाट उजुरी दर्ता गरेको उनको भनाई छ ।

फरार हुनु केहि समयअघि नै उनले अपीसैपालबाट जागिर भने छोडिसकेकी थिइन् । अत्तरियाकै केहि आफूलाई ठुला भन्ने व्यक्तिहरुको रकम ल्याएर मिटर ब्याजमा लगाइदिने भएकाले उनीहरुले बिनालाई जोगाइदिने गरेको पीडितहरुको आंशका छ ।

सहकारीको विश्वासमा परेर रकम जम्मा गरेको तर अहिले भने सहकारीले आफूहरुलाई सहयोग नगरेको उनीहरुको गुनासो छ । इलाका प्रहरी कार्यालय मालाखेतीले भने कारागारबाट फरार भएकाहरुको खोजी कार्य निरन्तर भइरहेको बताएको छ ।