
कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भदौ ६ गतेदेखि ९ गतेसम्म सुदूरपश्चिम प्रदेशको भ्रमणमा आउने भएकी छन्।
मन्त्री रावल भदौ ६ गते बिहान ८ बजे काठमाडौंबाट धनगढी आउने कार्यक्रम रहेको छ। धनगढी पुगेपछि उनले कैलालीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्।

त्यसपछि मन्त्री रावलले धनगढी उपमहानगरपालिकाको अनुगमन गर्ने र साँझ महेन्द्रनगर आउने कार्यतालिका रहेको छ।
भदौ ७ गते बिहान उनले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्। त्यसपछि भीमदत्त, बेदकोट र दोधाराचाँदनी नगरपालिकाको अनुगमन गर्ने कार्यक्रम रहेको छ।
यस्तै, भदौ ९ गते बिहान १० बजेदेखि १२ बजेसम्म मन्त्री रावलले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्।
छलफलपछि उनले अमरगढी नगरपालिकाको अनुगमन गर्ने कार्यक्रम रहेको छ। अनुगमन सकेर मन्त्री रावल साँझ महेन्द्रनगर फर्किने कार्यतालिका रहेको जनाइएको छ।














