सुदूरपश्चिममा साउनमा ५ हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

Image
maya metro

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२ सवारी कारबाही परेका हुन् ।

nisarga

सवारी कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रकम राजस्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार साउनमा सुदूरपश्चिममा २२३ सवारी दुर्घटना भएका थिए । यसमा १५ जनाको मृत्यु भएको थियो भने ३२४ जना घाइते भएका थिए । दुर्घटनामा ३२९ सवारी संलग्न रहेका थिए ।

उनका अनुसार १८१ दुर्घटना चालकका कारण भएका छन् भने नौ मादक पदार्थ सेवनका कारण दुर्घटना भएका छन् । त्यसैगरी, सवारी साधनका कारण चार, पैदल यात्रीका कारण १२, चौपायाको कारण १५, मौसमका कारण एक र सडकका कारण एक वटा दुर्घटना भएको प्रहरी तथ्याङ्क रहेको छ ।

“ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा मालसमान बोक्ने सवारीसाधनलाई कारबाही गर्ने गरिएको छ,” प्रवक्ता विष्टले भने, “सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम समेत गरिँदै आएको छ ।”

त्यसैगरी, प्रहरीले एक करोड ६९ लाख ५७ हजार ७८२ मूल्य बराबरको भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिएको छ । प्राकृतिक सम्पदा दोहनमा संलग्न २४ वटा सवारीसाधन बरामद गरी रु दुई लाख ५४ हजार ५०० जरिवाना असुल गरिएको छ । यसमा संलग्न नौ जना मानिसलाई पनि पक्राउ गरिएको थियो ।

अवैध वन पैदावार चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर ७१४ क्युफिट काठ बरामद गरेर आठ लाख तीन हजार राजस्व सङ्कलन भएको छ । अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले रु एक लाख २६ हजार राजस्व सङ्कलन गरेको छ ।

रासस