
अत्तरिया – कैलालीको गोदावरी–२ स्थित अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै मृत्यु भएकी सिन्की बोहरा र महाकाली यातायात प्रालिबिच आज (मंगलबार) भएको वार्ता पनि निष्कर्षविहिन भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीमा दुई पक्षबिच आज दिउँसोभर भएको वार्ता पनि बिना निष्कर्ष टुंगिएको हो ।
दोस्रो दिन पनि सहमति नजुटेपछि बोहराका आफन्त थप आक्रोशित भएका छन् । उनीहरुले भोलिदेखि अत्तरियामा चक्काजाम गर्ने घोषणा गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित पक्षले न्याय र क्षतिपूर्तिका लागि बेवास्ता गरिएको भन्दै अत्तरियामा बजारमा भोलि (बुधवार) बिहानैदेखि चक्काजाम गर्ने घोषणा गरेका हुन ।

मृतकका भतिजा शिवराज बोहराले ३ दिन देखि माग राख्दा पनि बेवास्ता गरिएको बताए । बझाङको मस्टा गाउँपालिका ६ का वडाध्यक्ष समेत रहेका उनले सहमति नभएमा बिहानदेखि अत्तरिया बजारमा चक्काजाम गर्ने बताए । उनले शान्तिपूर्ण रूपमा चक्काजाम गर्ने बताउँदै पीडित पक्षले न्याय र क्षतिपूर्ति नपाउँदा सम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।
उनले गाडीको अगाडीको भागमा ठोक्किएर ढलेपछि पछाडिको टायरले किचेर मारिएको भन्दै आफूहरुले न्याय पाउनुपर्ने बताए । उनले श्रीमान् सहित ४ जनाको परिवारको पालनपोषण गरिरहेकी सिन्की बोहराको मृत्युले परिवारमा पुगेको क्षतिपूर्ति पिडकले दिनुपर्ने बताए । दाहसंस्कार गर्नु पर्ने समय पनि दिनप्रतिदिन घर्र्किँदै जाँदा पिडकपक्षले उल्टै दबाउन खोजेपछि आफूहरु थप मार्कामा परेको उनको भनाई छ ।
एउटा दुखद घटना घटिसकेको अवस्थामा थप क्षति हुन नदिनका लागि प्रहरी प्रशासन सचेत हुनुपर्ने उनको भनाई छ । आइतबार बेलुकी महेन्द्रनगरबाट दार्चुलातार्फ जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ख९५६ नम्बरको बसले पानी बेचिरहेकी बोहरालाई किचेको थियो ।
बस र चालक दार्चुलाको मालिकार्जुन–२ बस्ने २४ वर्षीय रोहितसिंह धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिइसकेको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले हिजो इलाका प्रहरी कार्यालय मालाखेतीमा ढुंगामुडा गर्दै टायर बालेर प्रर्दशन गरेका थिए । मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् ।














