अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेकाे आरोपमा गोदावरीका एक युवक पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–९ मा शारीरिक तथा मानसिक रूपमा अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

घटनामा संलग्न रहेको आरोपमा सोही वडाका करिब २५ वर्षीय कृष्णराज भट्टराईलाई इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियाले पक्राउ गरेको हो। पीडित परिवारले भट्टराईविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्।

nisarga

घरका सदस्यहरू भूमि सम्बन्धी समस्या समाधान आयोगअन्तर्गत भइरहेको जग्गा नापजाँचका लागि बाहिर गएको समयमा ३० वर्षीया महिला घरमा एक्लै थिइन्।

जन्मजात शारीरिक तथा मानसिक अपाङ्गता रहेकी ती महिलामाथि भट्टराईले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

घर फर्किएका परिवारका सदस्यले कोठाबाट रोएको आवाज सुनेपछि भित्र जाँदा भट्टराईलाई महिलामाथि करणी गरिरहेको अवस्थामा भेटेको जाहेरीमा दाबी गरिएको छ।

त्यसक्रममा पीडितकी भाउजुले भट्टराईलाई रोक्न खोज्दा उनले हात समातेर भुइँमा लडाएको र लगाएको कुर्तासमेत च्यातेको आरोप लगाइएको छ। त्यसपछि भट्टराई घटनास्थलबाट फरार भएको जाहेरीमा उल्लेख छ।

पीडित परिवारले महिलाको स्वास्थ्य परीक्षण गराउन, घटनाबारे गाउँ सर्जमिन गरी आवश्यक प्रमाण संकलन गर्न तथा कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।