बलात्कार आरोपी भट्टराईमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

Image
maya metro

अत्तरिया – मानसिकरुपमा अस्वस्थ महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका कैलालीको गोदावरी-९ का २५ वर्षीय कृष्णराज भट्टराईमाथि अनुसन्धान गर्न अदालतले सात दिनको म्याद दिएको छ ।

जिल्ला अदालत कैलालीले भट्टराईलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई सात दिनको म्याद दिएको हो । मानसिकरुपमा अस्वस्थ महिलामाथि बलात्कारको आरोप लगाउँदै भट्टराइमाथि इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी परेको थियो ।

nisarga

भट्टराईलाई इलाका प्रहरी कार्यालय मालाखेतीले जाहेरी परेकै दिन हिजो (भदौ ९ गते) पक्राउ गरेको थियो । उनलाई आज अनुसन्धानका लागि म्याद लिन जिल्ला अदालत कैलाली लगिएको थियो ।

घरमा अरु कोहि नभएको समयमा ३० वर्षीया महिला घरमा एक्लै थिइन् । जन्मजात मानसिकरुपमा अस्वस्थ रहेकी ती महिलामाथि भट्टराईले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

घर फर्किएका परिवारका सदस्यले कोठाबाट रोएको आवाज सुनेपछि भित्र जाँदा भट्टराईलाई महिलामाथि करणी गरिरहेको अवस्थामा भेटेको जाहेरीमा दाबी गरिएको छ ।

त्यसक्रममा पीडितकी भाउजुले भट्टराईलाई रोक्न खोज्दा उनले हात समातेर भुइँमा लडाएको र लगाएको कुर्तासमेत च्यातेको आरोप लगाइएको छ । त्यसपछि भट्टराई घटनास्थलबाट फरार भएको जाहेरीमा उल्लेख छ ।

पीडित परिवारले महिलाको स्वास्थ्य परीक्षण गराउन, घटनाबारे गाउँ सर्जमिन गरी आवश्यक प्रमाण संकलन गर्न तथा कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।