नेपाली नागरिक पक्राउ गर्न कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा

Image
maya metro

धनगढी – नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहितका दुई जना इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो ।

उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनको घरसम्म पुगेका थिए । त्यसरी अनुमतिबिनै नेपालभित्र पसेर नेपाली नागरिक पक्राउ गर्न खोजेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

nisarga

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले उनीहरूलाई इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएको पुष्टि गरे ।

उनकाअनुसार घटनाबारे माथिल्लो निकायमा जानकारी गराइएको छ । माथिल्लो निकायबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतकाअनुसार नेपाल प्रहरीसँगको समन्वय र पूर्वजानकारी बिना नेपाली भूमीमा प्रवेश गर्नेमा कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएस छन् ।