
धनगढी – मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्वतयारीका साथ उच्च सतर्कता अपनाएको छ । प्रदेश सरकारले वर्षाका कारण आउन सक्ने बाढीपहिरो जस्ता विपत्का घटनामा कुनै पनि ठुला दुर्घटना वा मानवीय क्षति हुन नदिने गरी पूर्वतयारीका साथ उच्च सतर्कता अपनाएको हो । सरकारले अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको दार्चुला, बझाङ, बाजुरामा नागरिकलाई सचेत गर्दै सतर्क रहन आग्रह गरिसकेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए।
उनका अनुसार बाढीपहिरो जस्ता विपत् आइपरेको खण्डमा विपत्मा परेका नागरिकको उद्धार, व्यवस्थापनलगायतका कार्यका लागि सुरक्षा निकायलाई पूर्ण तयारी अवस्थामा रहन सरकारले निर्देशन दिइसकेको छ । मन्त्री रावल भन्छन्, “कुनै पनि ठुला दुर्घटना र मानवीय क्षति हुन नदिनका लागि प्रदेश सरकार अग्रिम ‘अलर्ट’ छ । सोही अनुसार सरोकारवाला सम्पूर्ण निकायलाई ‘हाई अलर्ट’ अवस्थामा राखिएको छ ।”

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले असोज ९ शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म यस प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको छ । उत्तर अन्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भागआसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) भई उत्तरपश्चिम दिशातिर सर्ने देखिएकाले मुलुकका विभिन्न प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिएको महाशाखाले जनाएको छ ।
प्रदेशका पहाडी तीन जिल्लालाई महाशाखाले रातो क्षेत्र अर्थात् प्रतिकार्य गर्नुपर्ने क्षेत्रका रूपमा सङ्केत गरेको छ भने पहाडका अछाम, डोटी, बैतडी, डडेलधुरा र तराईका कैलाली, कञ्चनपुर गरी छ जिल्लालाई पहिलो क्षेत्र अर्थात् अद्यावधिक हुनुपर्ने सङ्केत गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म यस प्रदेशमा पनि भारीदेखि धेरै भारीसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि प्रदेश विपत् कार्यकारी परिषद्को तत्कालै बैठक बोलाएर पूर्वतयारीका विषयमा सम्पूर्ण सरोकारवालासँग छलफल गरिएको विपत् हेर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले जानकारी दिए । उनले विपत् प्रतिकार्यका लागि प्रदेश सरकारले राम्रो तयारी गरेको बताए ।
मन्त्री थारूले भने, “सुरक्षा निकायलाई सबै बन्दोबस्तीका साथ ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएका छौं । विपत्मा सरोकार राख्ने सङ्घ संस्थालाई पनि तयारी अवस्थामा रहन आग्रह गरेका छौँ ।” मनसुनलगायत अन्य प्राकृतिक विपत्जन्य घटनाबारे जानकारी दिन र सबै जिल्लामा समन्वय गर्नका लागि प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र चौबिसै घण्टा सञ्चालनमा छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार आपत्कालीन कार्य सञ्चालन केन्द्रले सबै जिल्लाको विवरण सङ्कलनदेखि लिएर सूचना आदानप्रदान गर्ने केन्द्रका स्रोतव्यक्ति जनक धामीले जानकारी बताए । उनले विपत् कार्यकारी समिति र परिषद्ले गरेको निर्णय अनुसार प्रतिकार्यका गतिविधि सञ्चालन हुने उल्लेख गरे । प्रदेशमा बाढीपहिरो जस्ता विपत्बाट प्रभावित हुन सक्ने नागरिकका लागि बन्दोबस्तीका सामग्री मौज्दात रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । त्रिपाललगायत अखाद्य वस्तुको अभाव नहुने मन्त्री डगौराले बताए ।














