बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

Image
maya metro

बैतडी – बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका वडा सदस्य विनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार उनीहरूलाई करिब एक महिनाअघि भएको चोरीको घटनाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो।

nisarga

प्रहरीका अनुसार दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा घरधनी नभएको समयमा छत फोडेर तामाका भाँडाकुँडा चोरी भएको थियो ।

उक्त घटनामा संलग्न रहेको आशङ्कामा चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।