
अत्तरिया – नेपाली कांग्रेसको असोज १८ गते हुने १५औँ महाधिवेशनमा कैलाली क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि रमेश ताम्राकारले केन्द्रीय कार्यसमितिको खुला दलित क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
ताम्राकारले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै जातीय विभेद तथा छुवाछूतविरुद्धको अभियानलाई अघि बढाउँदै आएको उल्लेख गर्दै पार्टीको समावेशी र समाजवादी आदर्शलाई थप सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

उनले २००७ सालको परिवर्तनपछि ‘सँगै बसौँ, सँगै खाऔँ’ भन्ने अभियान तथा छुवाछूतमुक्त समाज निर्माणको प्रयासदेखि बीपी कोइरालाले धनमानसिंह परियारलाई महामन्त्री बनाएको इतिहास स्मरण गर्दै कांग्रेस सबै समुदायलाई समेट्ने पार्टी भएको बताए।
ताम्राकारका अनुसार उनी २०४६ सालको जनआन्दोलनदेखि २०६२र६३ को जनआन्दोलनसम्म कांग्रेसका विभिन्न अभियानमा सक्रिय रहे। २०५४ सालदेखि तरुण दलको गाउँ शाखा तथा जिल्ला तहमा सक्रिय रहेका उनी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय कोषाध्यक्षसमेत भइसकेका छन्।
कांग्रेसको १३औँ महाधिवेशनबाट महासमिति सदस्य बनेका ताम्राकार २०८२ सालमा सुदूरपश्चिम दलित संघको प्रदेश सभापतिमा निर्वाचित भएका थिए। हाल १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुँदै उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनले पछाडि पारिएका तथा सीमान्तकृत समुदायको हकहित, पार्टीको समावेशी सिद्धान्तको प्रभावकारी कार्यान्वयन र कांग्रेसको विधानअनुसार संगठनलाई थप मजबुत बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए।
शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, आयआर्जन तथा सीपमूलक कार्यक्रममार्फत रोजगारीको सुनिश्चितताका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै ताम्राकारले आफू सधैँ जनताको साथमा रहेर सेवामा समर्पित रहने बताए।उनले १५औँ महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै सहयोग र समर्थनका लागि अपेक्षा गरेका छन्।















