
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–३, मालाखेती निवासी लोकेन्द्र भट्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्यान्डिडेट क्लबमा गोदावरी नगरपालिकाको नगर प्रमुख पदका लागि आवेदन दिएका छन्। वातावरण विज्ञानमा स्नातकोत्तर गरेका भट्ट वातावरण व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव हासिल गरेका व्यक्ति हुन्।
त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेका भट्टले सन् २०१० मा विशिष्ट श्रेणीसहित स्नातकोत्तर उत्तीर्ण गरेका हुन्। उनले सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगरबाट सन् २००८ मा प्रथम श्रेणीसहित स्नातक तह पूरा गरेका थिए।

भट्टले आफ्नो व्यावसायिक जीवनमा वातावरण संरक्षण, बाढी तथा पहिरोको जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन, विपद् पूर्वतयारी र स्थानीय विकास योजनाको क्षेत्रमा काम गरेका छन्। उनले सरकारी तथा निजी क्षेत्रका परियोजनामा वातावरणीय परामर्शदाताका रूपमा काम गर्नुका साथै विश्वविद्यालयमा अध्यापनसमेत गरेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनामा काम गरेको अनुभव
भट्टले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व बैंक, यूके एड, यूएसएआईडी, जापानको परराष्ट्र मन्त्रालयलगायत विभिन्न विकास साझेदारको सहयोगमा सञ्चालित परियोजनामा काम गरेको अनुभव आफ्नो बायोडाटामा उल्लेख गरेका छन्।
उनले सुदूरपश्चिम प्रदेश सरकारका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा परामर्शदाताका रूपमा काम गरेका थिए। कैलालीको भजनी नगरपालिका तथा बैतडीका विभिन्न स्थानीय तहमा बाढी, पहिरो र विपद् जोखिमसम्बन्धी अध्ययन तथा योजना निर्माणमा पनि उनको संलग्नता रहेको छ।
सन् २०२० देखि २०२५ सम्म उनले अत्तरियास्थित बी एन्ड बी इन्भाइरोन्मेन्टल सर्भिसेज प्रालिमा कार्यकारी निर्देशक तथा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन विज्ञका रूपमा काम गरेका थिए। त्यस क्रममा स्थानीय तथा प्रदेशस्तरका योजना निर्माण, वातावरणीय अध्ययन, सामुदायिक जोखिम मूल्यांकन र विकास परियोजनासम्बन्धी काममा नेतृत्व गरेका थिए।
त्यसअघि उनले मर्सी कोप्र्स नेपाल, नेपाल रेडक्रस सोसाइटी कैलाली, निड्स नेपाल तथा अन्य संस्थामा विभिन्न जिम्मेवारी सम्हालेका थिए। सन् २०१९ देखि २०२३ सम्म सुदूरपश्चिम विश्वविद्यालयको सामान्य विज्ञान विभागमा विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन विषयमा अध्यापनसमेत गरेका थिए।
स्थानीय विकास र विपद् व्यवस्थापनमा अनुभव
भट्टको कार्यअनुभव वातावरणीय प्रभाव अध्ययन, स्थानीय अनुकूलन कार्ययोजना, विपद् जोखिम व्यवस्थापन योजना, बाढी पूर्वसूचना प्रणाली, सुरक्षित पूर्वाधार निर्माण तथा समुदायको क्षमता विकाससम्म फैलिएको छ। उनले कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा स्थानीय सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र र समुदायसँग समन्वय गरेर काम गरेको उल्लेख गरेका छन्।
उनले रानी जमरा कुलरिया सिँचाइ आयोजना, कैलालीमा वातावरणीय सुरक्षा विशेषज्ञका रूपमा काम गरेका थिए। यस्तै, भूकम्पीय सुरक्षा, अस्पतालको सुरक्षा मूल्यांकन, विद्यालय सुरक्षा तथा विपद् प्रतिकार्यसम्बन्धी कार्यक्रमहरूमा पनि उनको अनुभव रहेको छ।
प्रत्येक वर्ष नगरमा बाह्र सय रोजगारी सिर्जना, योजनाहरुको प्रभावकारी कार्यान्वयन, छाडा पशु चौपायाको व्यवस्थापन, आधुनिक कृषिक्षेत्रलाई प्राथमिकता, शून्य भ्रष्टाचार, समयको परिपालनजस्ता कुराहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्ने भट्टको योजना छ।
कृषि बजार र अत्तरिया बसपार्कको स्तरोन्नती, रोजगारी सिर्जना, मादक पर्दाथ बिक्रि वितरणमा नियमन,धार्मिक पर्यटनको विकासका साथै शिक्षा, स्वास्थ्य क्षेत्र तथा व्यवस्थापकिय कामहरुमा सुधार ल्याउनेलगायत आफ्नो लक्ष्य रहेको भट्टको भनाई छ ।






























