सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय, पहिलो बैठकबाटै संस्कृत पाठशालालाई ५० हजार सहयोग

Image
maya metro

धनगढी – सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको नयाँ कार्यसमिति चयन भएको छ। शनिबार कात्तिक १४ गते सम्पन्न चौथो अधिवेशनबाट धर्मराज पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

विभिन्न देशमा रहेका सुदूरपश्चिमेली नेपालीहरूलाई समेट्दै नयाँ नेतृत्व चयन गरिएको हो। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश जोशी (बहराइन), उपाध्यक्षमा विनोद चन्द (जापान) र दिल्ली राज पनेरु (दक्षिण कोरिया) र महिला उपाध्यक्षमा दिपादेबी एर चयन भएका छन्।त्यस्तै, महासचिवमा डम्मरबहादुर खड्का (पोर्चुगल), सचिवमा राजबहादुर साउद (थाइल्यान्ड), कोषाध्यक्षमा भुवनप्रसाद भट्ट (भारत) र सहकोषाध्यक्षमा निलम मल्ल ठकुरी (क्रोएसिया) चयन भएका छन्।
समाजको गल्फ संयोजकमा रमेश जोशी र गल्फ उपसंयोजकमा दामोदर ठगुन्ना (यूएई) चयन भएका छन्। त्यसैगरी, केन्द्रीय सदस्यमा विभिन्न देशमा रहेका प्रतिनिधिहरू चयन गरिएको छ।

nisarga

यसैबीच, समाजका निवर्तमान अध्यक्ष शेरबहादुर रावतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै संस्थालाई विधानअनुसार अगाडि बढाउने अपेक्षा व्यक्त गरेका छन्।
नयाँ कार्यसमितिको पहिलो बैठकले सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने निर्णयसमेत गरेको छ। बैठकले डोटीको शिखर नगरपालिका–६, चुडिमा रहेको श्री मष्टा संस्कृत गुरुकुल  बिधाश्रम लाई  आवश्यक शैक्षिक सामग्री तथा वाद्यवादनका सामग्री खरिदका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

समाजका वरिष्ठ उपाध्यक्ष उमेश जोशीका अनुसार  उक्त बिधाश्रमलाई शैक्षिक गतिविधिलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो।
विदेशमा रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच एकता, सहकार्य र सामाजिक सद्भाव कायम गर्दै स्वदेशको शिक्षा, संस्कृति तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ समाजले आफ्नो गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ।