
काठमाडौँ – अमेरिकाको मध्यावधि निर्वाचनमा प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । यस परिणामसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालका लागि रिपब्लिकन पार्टीको एकल वर्चस्व अन्त्य भएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचन भएको हो ।
निर्वाचनको यो परिणामले राष्ट्रपति ट्रम्पले बाँकी दुई वर्षको कार्यकाल डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । चरम महँगीले जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिविम्बित भएको छ । ८० वर्षीय राष्ट्रपति ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्ने बताउँदै डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको प्रशंसा गरेका छन् तर उनले रिपब्लिकनहरूको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गर्नुभएको छ ।

डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना, उत्तर क्यारोलिनालगायत राज्यमा सफलता हासिल गरेका छन् । मेनमा ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गर्नुभएको छ भने जर्जियामा केइसा लान्स बटम्स अमेरिकी इतिहासकै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित हुनुभएको छ । दुवै सदनमा बहुमत पाएपछि डेमोक्रेटहरूले इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमाथि अनुसन्धान गर्न तथा ट्रम्पका विधेयक र सरकारी नियुक्तिलाई चुनौती दिने सम्भावना बढेको छ । राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूले पारित गरेका विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनी भने दिनुभएको छ । यसले आगामी दुई वर्ष अमेरिकामा राष्ट्रपति र संसद्बिचको राजनीति पेचिलो बन्ने सम्भावना बढेको छ । यद्यपि द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणाम स्विकार्न आफू पूर्ण रूपमा तयार रहेको बताउँदै डेमोक्रेटहरूसँग सहकार्य गरेर केही काम गर्न सकिने उल्लेख गर्नुभएको छ ।
हारको कारण युद्ध र महँगी
राष्ट्रपति ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका निर्वाह गरेको स्वीकार गर्दै विपक्षी डेमोक्रेटिक पार्टीलाई बधाई दिनुभएको छ । इरान युद्ध र बढ्दो तेलको मूल्य मतदातामाझ अलोकप्रिय बनेको स्वीकार गर्दै उहाँले युद्ध निर्वाचन परिणाम प्रभावित पार्ने एउटा कारण भएको बताउनुभयो । यद्यपि इरानप्रति आफूले अपनाएको नीतिको महत्व मतदाताले बुझेको उहाँको दाबी थियो । राष्ट्रपति ट्रम्पले टेक्सासका गभर्नर ग्रेग एबटको आलोचना गर्दै उहाँ नाम मात्रका रिपब्लिकन भएकाले पराजित भएको टिप्पणी गर्नुभयो । अमेरिकी समाचार संस्था एपीका अनुसार तल्लो सदनको ४३५ सिटमध्ये बहुमतका लागि आवश्यक २१८ सिट पार गर्दै डेमोक्रेटिक पार्टीले २३१ सिट जितेको छ भने रिपब्लिकनले १३९ सिट प्राप्त गरेको छ । एनबिसी न्युजको विश्लेषण अनुसार डेमोक्रेटिक पार्टीले अन्तिम नतिजा आउँदा कम्तीमा २५२ सिट पु¥याउने अनुमान छ । माथिल्लो सदनका कुल १०० सिटमध्ये ३५ सिटका लागि मतदान भएकोमा डेमोक्रेटिक पार्टीले कुल ५४ सिट र रिपब्लिकन पार्टीले ४४ सिट जितेका छन् । डेमोक्रेटिक पार्टीले रिपब्लिकन पार्टीको गढ मानिएका राज्यहरू–टेक्सास, ओहायो, कान्सास, आयोवा, मेन, उत्तर क्यारोलिना र दक्षिण क्यारोलिनामा जित निकाल्दै सिनेटमा ५४ सिटसहित पूर्ण बहुमत सुनिश्चित गरेको छ ।
गभर्नरमा ऐतिहासिक नतिजा
विभिन्न राज्यका गभर्नर पदमा पनि डेमोक्रेटिक पार्टीले महत्वपूर्ण जित हासिल गरेको छ । टेक्सासमा डेमोक्रेट गिना हिनोजोसाले तीन कार्यकालदेखि गभर्नर रहेका रिपब्लिकन ग्रेग एबोटलाई पराजित गर्दै सन् १९९० यता पहिलो पटक सो राज्यमा गभर्नर बन्न सफल हुनुभएको छ । डेमोक्रेटिक पार्टीबाट किसा लान्स बटम्स जर्जियाको इतिहासमै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित हुनुभएको छ । डा. एमी एक्टनले रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीविरुद्धको प्रतिस्पर्धा जित्दै ओहायोको पहिलो महिला गभर्नर बनेर इतिहास रच्नुभएको छ ।
चुनावी परिणामप्रति अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो पार्टीको ठुलो जित अमेरिकीहरू परिवर्तन चाहन्छन् भन्ने प्रमाण भएको बताउनुभयो । इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफले अमेरिकी जनताले मतमार्फत युद्धलाई अस्वीकार गरेको दाबी गर्नुभयो । अमेरिकामा हाउस अफ रिप्रिजेन्टेटिभ अर्थात् प्रतिनिधि सभाका सदस्यको कार्यकाल दुई वर्ष, राष्ट्रपतिको चार वर्ष र सिनेटका सदस्यको छ वर्ष हुन्छ ।
प्रत्येक दुई वर्षमा प्रतिनिधि सभाका सबै सदस्यका लागि निर्वाचन हुन्छ । त्यही बेला सिनेटका करिब एक तिहाइ सदस्यको कार्यकाल सकिने भएकाले ती पदका लागि पनि सम्बन्धित राज्यमा निर्वाचन हुन्छ । राष्ट्रपतिको चारबर्से कार्यकालको बिचमा अर्थात् राष्ट्रपति निर्वाचित भएको दुई वर्षपछि हुने यो निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ । अमेरिकामा संसद्को बहुमत गुमाउँदैमा सरकार ढल्दैन । राष्ट्रपतिको कार्यकाल छुट्टै हुन्छ । त्यसैले यो निर्वाचनले ट्रम्पको नियमित कार्यकाल छोट्याउँदैन । उहाँ सन् २०२९ को जनवरीसम्मका लागि निर्वाचित हुनुभएको हो । सन् २०२८ को नोभेम्बरमा मात्र राष्ट्रपतिको निर्वाचन हुने छ ।































