विदेशबाट फर्केका नवराजले सुरु गरे व्यवसाय, धनगढीमा खुल्यो ‘रेड जोन’

Image
maya metro

अत्तरिया – विदेशमा झन्डै पाँच वर्ष विभिन्न काम गरेर स्वदेश फर्किएका धनगढी हसनपुरका नवराज कटुवालले आफ्नै ठाउँमा व्यवसाय सुरु गरेका छन्। उनले धनगढीको हसनपुरस्थित ऐश्वर्य विद्या निकेतन नजिकै ‘रेड जोन’ नामक फेन्सी पसल सञ्चालनमा ल्याएका हुन्।

करिब ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त पसलको आज कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करनाथ ओझाले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले विदेशबाट फर्किएर स्वदेशमै केही गर्ने सोचसहित व्यवसायमा लाग्नु सकारात्मक भएको बताए। स्वदेशमै उद्यम तथा व्यवसाय गर्न चाहने नयाँ व्यवसायीलाई सहयोग र समन्वय गर्न कैलाली उद्योग वाणिज्य संघ सधैँ तत्पर रहेको उनको भनाइ थियो।

nisarga

झन्डै पाँच वर्ष विदेशका विभिन्न ठाउँमा काम गरेर फर्किएका कटुवालले परदेशमा भोगेको दुःख र मेहनतपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेको बताए। विदेशमा गरिने मेहनत आफ्नै देशमा गर्न सके पनि राम्रो उपलब्धि हासिल गर्न सकिने आफूलाई विश्वास लागेको उनले बताए। विदेशमा सिकेको सीप, अनुभव र मेहनतलाई स्वदेशमै लगानी गर्दा राम्रो आम्दानी गर्न सकिने उनको अपेक्षा छ।

‘रेड जोन’मा विशेषगरी युवा पुस्तालाई लक्षित गरी विभिन्न प्रकारका फेसन तथा फेन्सी सामग्री उपलब्ध गराइएको छ। पसलमा कपडा, जुत्ता–चप्पललगायत सामग्री राखिएका छन्। त्यस्तै, ग्राहकको चाहना र रोजाइअनुसार मेसिनको प्रयोगबाट विभिन्न प्रकारका अत्तर तथा सेन्टसमेत तयार गर्ने व्यवस्था गरिएको सञ्चालक कटुवालले बताएका छन्।  आफ्नो पसलमा ट्याटे खोप्ने व्यवस्था समेत रहेको उनले बताए।
व्यवसाय सुरु गरेकोमा कटुवालकी आमा शारदाले पनि खुसी व्यक्त गरेकी छन्। विदेशमा रहँदा छोराको चिन्ताले सधैँ मन दुःखिरहने गरेको बताउँदै उनले अब आफ्नै देशमा केही गर्नुपर्छ भनेर छोरालाई पनि सल्लाह दिने गरेको बताइन्। छोराहरूको मेहनत र लगनशीलताले स्वदेशमै व्यवसाय सुरु गर्न सफल भएकोमा आफू खुसी रहेको उनको भनाइ छ। आफ्ना सन्तान मात्र नभई कुनै पनि नेपाली युवा रोजगारीका लागि विदेश जानुपर्ने अवस्था नआओस् भन्ने आफ्नो चाहना रहेको उनले बताइन्।