
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–८ खुटियामा वृद्धालाई मोटरसाइकलले ठक्कर दिएर फरार भएका सशस्त्र प्रहरी बल (एपीएफ) का राष्ट्रिय कराँते खेलाडी प्रदीप बैजाली मगर पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनलाई प्रहरीले हिजो काठमाडौंस्थित स्वयम्भुबाट पक्राउ गरी आज कैलाली ल्याएको हो । उनलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ।

गत कार्तिक १ गते चुरे गाउँपालिका ६ का १९ वर्षीय मगरले चलाएको बा६९प४२६९ मोटरसाइकलको ठक्करबाट खुटियाकी ६२ वर्षीया तारा धामी गम्भीर घाइते भएकी थिइन्। सडकमा गिट्टी कुट्ने काम गर्दै आएकी धामीलाई ठक्कर दिएपछि चालक घटनास्थलबाट फरार भएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी धामीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएको २२ दिन बितिसक्दा पनि उनको अवस्था गम्भीर रहेको र उपचार जारी रहेको स्थानीय प्रकाश मिजारले बताएका छन् ।
घटनापछि फरार रहेका चालकको इलाका प्रहरी कार्यालय मालाखेतीले खोजी जारी राखेको थियो । खोजीमा ढिलाई भएको भन्दै कार्तिक १३ गते घाइतेका आफन्तले खुटियामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध समेत गरेका थिए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिह महराले दोषीलाई चाँडै नियन्त्रणमा लिने प्रतिवद्धता जनाएपछि राजमार्ग सुचारु भएको थियो । मोटरसाइकल नम्बर समेत नखुलेको अवस्थामा चालक पक्राउ गर्नु प्रहरीका लागि समेत चुनौती बनेको थियो । अन्ततः काठमाडौंमा पक्राउ परेका मगरलाई कैलाली ल्याइएको हो । घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























