बन्दगडामा भत्काएको ५ महिनासम्म कुलो पुनर्निर्माण भएन, गहुँखेतीबारे अन्योल

Image
maya metro

अत्तरिया – पहाडका किसानका लागि कुलो केवल पानी बग्ने माध्यम मात्रै होइन, वर्षभरि गरिने खेतीपाती र परिवारको जीविकोपार्जनसँग जोडिएको जीवनरेखा हो। खेतमा पानी पुग्दा किसानको अनुहारमा देखिने खुसी र कुलो सुक्दा मनमा छाउने निराशा बन्दगडाका स्थानीयले अहिले भोगिरहेका छन्।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित बन्दगडामा खुटिया–दिपायल सडक निर्माणका क्रममा भत्काइएको सिँचाइ कुलो लामो समय बितिसक्दा पनि पुनर्निर्माण नहुँदा स्थानीय किसान चिन्तित बनेका छन्।

nisarga

गत असार ६ गते सडक निर्माणका क्रममा निर्माण कम्पनीले बन्दगडाको सिँचाइको मुख्य स्रोतका रूपमा रहेको कुलो भत्काएको थियो। सडक निर्माणका लागि कुलो भत्काउनुपर्ने भएपछि निर्माण कम्पनीले स्थानीयसँग असारको खेतीपातीको समय धान्न आकाशे पानीको भर पर्ने र कार्तिकको पहिलो साताभित्रै कुलो पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो।

सडक पनि गाउँका लागि आवश्यक भएकाले स्थानीयले कम्पनीको आश्वासनलाई विश्वास गरे। धानखेतीका लागि आकाशे पानीकै भर पर्ने र गहुँखेतीको सिजन सुरु हुनुअघि कुलो बनिसक्ने अपेक्षासहित उनीहरूले कुलो भत्काउन सहमति दिएका थिए।

तर कम्पनीले गरेको प्रतिबद्धताअनुसार कुलो निर्माण हुन सकेन। कार्तिक महिना सकिन लाग्दासमेत कुलो भताभुङ्ग अवस्थामै छ। यता गहुँ रोप्ने सिजन सुरु भइसकेको छ। खेतमा पानी पु¥याउने मुख्य माध्यम नै भत्किएपछि किसानहरू अबको खेती कसरी गर्ने भन्ने चिन्तामा छन्।

बन्दगडाका स्थानीयले २०५१ सालमा निकै दुःख र मेहनत गरेर उक्त कुलो निर्माण गरेका थिए। वर्षौँदेखि यही कुलोको पानीले करिब ८० बिघा जमिनमा सिँचाइ हुँदै आएको छ। करिब दुई सय परिवारको बसोबास रहेको उक्त बस्तीका अधिकांश परिवारको मुख्य पेसा कृषि हो।

खेतीपातीका लागि आवश्यक पानीको एकमात्र भरपर्दो स्रोत कुलो भत्किएपछि आफूहरूको अवस्था निकै कठिन बनेको स्थानीय रनी साउँदले बताए । ‘हाम्रो मुख्य पेसा भनेकै कृषि हो। खेती गर्न पानी चाहिन्छ, पानी नभइ यो डाँडामा दुई दिनमै बाली सुक्छ, उनले भने, पानी आउने कुलो नै भत्काइदिएपछि हाम्रो हात भाँचिएजस्तै भएको छ,।’

स्थानीय पदम साउँदले निर्माण कम्पनीले स्थानीयसँग गरेको प्रतिबद्धताअनुसार तत्काल कुलो निर्माण गर्नुपर्ने बताए। पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभए आफूहरू विरोधका कार्यक्रम गर्न बाध्य हुने उनको चेतावनी छ। उनका अनुसार बन्दगडाका धेरै परिवार यही कुलोबाट सिँचाइ हुने खेतबारीमा निर्भर छन्।

कुलो नबन्दा उनीहरूको दैनिक जीवनमै प्रत्यक्ष असर पर्ने अवस्था छ। त्यस्तै स्थानीय रामबहादुर साउँदले कुलो पुर्ननिर्माण गर्ने प्रतिवद्धता गरेर यसरी अलपत्र छाड्न नमिल्ने बताए । खेती लाउने सिजन सुरु भएकोले तुरुन्तै कुलो निर्माण गर्नुपर्ने उनले सम्बन्धित पक्षसंग माग गरे । अर्का स्थानीय लाल बहादुर साउँदले आगामी २० दिनभित्र कुलो पुननिर्माण नभए आफूहरु सडक डिभिजनको गोदावरीस्थित कार्यालय घेराउ गर्ने चेतावनी दिए ।

स्थानीयले कुलो पुनर्निर्माणका लागि निर्माण कम्पनीदेखि सडक डिभिजन कार्यालयसम्म पटक–पटक आग्रह गरिसकेका छन्। तर आश्वासनबाहेक ठोस काम अघि नबढेको उनीहरूको गुनासो छ। खुटिया–दिपायल सडक खण्डका इन्जिनियर दीपक देवकोटाले स्थानीयको मागलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताए।

कुलो निर्माणका लागि निर्माण कम्पनीसँग पटक–पटक सम्पर्क गरिएको र कम्पनीले तिहारलगत्तै काम सुरु गर्ने जानकारी गराएको उनले बताए। स्थानीयको सिँचाइ समस्या समाधान गर्न कुलो चाँडो निर्माण हुनुपर्नेमा आफूहरू पनि सहमत रहेको उनको भनाइ छ।

निर्माण कम्पनी कालिका वेदान्त जेभीका आयोजना प्रमुख प्रकाश चन्द्र खरेलले आगामी सोमबारदेखि उक्त क्षेत्रमा काम सुरु हुने बताएका छन्। स्थानीयको मागप्रति कम्पनी गम्भीर रहेको र सोमबारदेखि काम सुरु गरिने उनले जानकारी दिएका छन् ।