
भक्तपुर – कोरोना भाइरस संक्रमण पुनः बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आइतवार बसेको बैठकले मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।
बैठकले मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। त्यस्तै‚ सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाई गर्ने, घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

यस्तै‚ कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। १२ वर्ष वा सोभन्दा माथिका स्थानीय तहका लक्षित समूह, पहिलो र दोस्रो खोपको मात्रा नलगाएकाहरुको विश्लेषण गरी आवश्यक मात्रामा खोप केन्द्रको व्यवस्था गर्ने र खोपको प्रचारप्रसारलाई तीव्रता दिने निर्णय भएको प्रजिअ शर्माले बताइन्।
जनप्रतिनिधि र सुरक्षा निकायको सहयोग र समन्वयमा खोप अभियानलाई प्रभावकारी बनाई पूर्ण खोपको सुनिश्चितता गराउन सहजीकरण गर्ने, खोपको पहुँच र कभरेज बृद्धिका लागि शिक्षा समन्वय इकाई, प्याव्सन र एन प्याव्सन मार्फत निरन्तर प्रचारप्रसार र सहयोग गर्ने निर्णय भएको छ।
यस्तै सम्पूर्ण सार्वजनिक निकायमा आउने सेवाग्राहीलाई खोप लगाउन प्रोत्साहित गर्ने, यसको सूचना स्वास्थ्य कार्यालयले तयार गरी सबै कार्यालयहरुमा पठाउने निर्णय भएको प्रजिअ शर्माले बताए। सबै सरकारी अस्पताल, नियमित खोप सञ्चालन गर्न सूचीकृत गैरसरकारी अस्पताल, निजी अस्पताल र घना बस्ती रहेका क्षेत्रमा नियमित खोप केन्द्र तोकी नियमित खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ।
बैठकले संक्रमणका कारण अस्पतालहरुमा आउन सक्ने बिरामीको चापलाई समेत ध्यानमा राखी सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जिल्लाका सबै सरकारी र निजी अस्पतालहरुलाई तयारी अवस्थामा राख्ने, अक्सिजन तथा आवश्यक सामग्रीको आवश्यक मात्रामा भण्डारण गर्ने, स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
यस्तै‚ नगरपालिकाका हटस्पट पहिचान गरी राजनैतिक दल र जनप्रतिनिधिहरुसँग आवश्यक समन्वय गरी परीक्षणलाई बढाउने निर्णय गरेको छ। भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर चेम्बर अफ कमर्शको सहयोग र समन्वयमा व्यक्तिगतरुपमा प्रयोग भएका र स्टक रहेका अक्सिजन सिलिण्डरहरु सम्बन्धित उद्योगमा फिर्ता गर्न पहल गर्ने, जिल्लाका सीमा नाकामा सुरक्षा निकायले कडाईका साथ जाँच गर्ने निर्णय समेत बैठकले गरेको प्रजिअ शर्माले बताइन्।














