बैतडीमा जारी टि–१० क्रिकेटमा तीन खेल सम्पन्न

Image
maya metro

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–११ मा जारी टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार तीन खेल सम्पन्न भएका छन्। बगलेखान खेल मैदानमा भएको पहिलो खेलमा नानीगाडले चैनपुरलाई ८२ रनले हरायो।

नानीगाडले दिएको १३६ रनको लक्ष्य पछ्याएको चैनपुर ५३ रनमा सीमित भयो। बयासी रन बनाउनुका साथै दुई विकेट हात पार्ने नानीगाडका सुरज चन्द म्यान अफ द म्याच चुनिए। दोस्रो खेलमा नागार्जुन सिम ए ले डिबडे स्पोर्ट्स क्लबलाई १८ रनले पाखा लगायो। सिम ए ले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको डिबडेले ७४ रन मात्रै बनाउन सक्यो। चालीस रन बनाएका सिमका ललित जोशी म्यान अफ द म्याच भए।

nisarga

यस्तै तेस्रो खेलमा मावि बगलेखानले एनआरवाइसी बी माथि १० विकेटको जीत निकालेको छ। एनआरवाइसीले दिएको ५१ रनको लक्ष्य बगलेखानले विनाविकेटको क्षतिमा भेट्टायो। बगलेखानका मनोज जोशी म्यान अफ द म्याच हुन सफल भए। नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी)को आयोजनामा पुस २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेतालाई २० हजार, ट्रफी र मेडल प्रदान गरिनेछ। द्वितीय हुने टिमलाई नगद १० हजार, ट्रफी र मेडल प्रदान गरिने आयोजक नागार्जुन रणसैनी युवा क्लबका अध्यक्ष वीरेन्द्र चन्दले बताए।

रासस