मनकामना मन्दिर प्रवेशमा रोक

Image
maya metro

गोरखा – गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ। देशभर तेस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि संक्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिरमा भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।

समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनको भनाइ छ। ‘कोरोना संक्रमणदर दिनानुदिन बढ्दो छ,’ अध्यक्ष जोशीले भने, ‘मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले संक्रमण झनै फैलनसक्ने जोखिमपछि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो।’

nisarga

उनले माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको जानकारी दिए। बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने अध्यक्ष जोशीले बताए।

‘शुक्रबारदेखि मन्दिर आउने जोकोहीले मन्दिर बाहिर रहेको बारबाट मन्दिरमा रहेका सहयोगीमार्फत मात्र पूजाआजा गर्न पाउँछन्‚’ उनले भने, ‘मन्दिरभित्र पसेर भने पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ।’

मनकामना मन्दिरमा अहिले पनि दैनिकरूपमा पाँच हजारभन्दा बढी भक्तजन मन्दिरमा दर्शनका लागि पुग्ने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले बताए।

रासस