कैलालीमा लागु औषध नियन्त्रण गर्न प्रहरीलाई चुनौती

Image
maya metro

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीेले गएको पुष ३० गते लागुऔषध खैरो हिरोइनसहित २४ र २७ बर्षका दुई युवा पक्राउ गरे। त्यसको अघिल्लो दिन मात्र लागुऔषधसहित धनगढीबाटै तीन युवा प्रहरीले नियन्त्रणमा लियो। तीमध्ये एकजना दुर्घटनामा घाइते भएर अस्पतालमा उपचारपछि डिस्चार्ज हुँदै थिए।

यी पछिल्ला केही प्रतिनिधि उदाहरण हुन् । कैलालीमा लागुऔषध प्रयोगकर्ता र कारोबारी दैनिकजसो पक्राउ पर्दै आएका छन्। प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा कैलालीका विभिन्न ठाउँबाट एक सय सातजना कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको छ।

nisarga

यो अवधिमा लागुऔषधसम्बन्धी ७८ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन। गत वर्ष मात्रै लागुऔषधसम्बन्धी ९१ वटा मुद्दामा एक सय ३२ जनालाई प्रहरीले पक्राउ गरेको थियो।पक्राउ परेकामध्ये अधिकांश प्रयोगकर्ता रहने गरेका छन। धेरैजसो प्रयोगकर्ताले लागुऔषध बिक्री गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

‘बेच्ने र खानेको संख्या धेरै छ। कतिपय बेच्ने मात्रै छन्,’ उनले भने, ‘लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ, तर खुला सिमानाका कारण रोक्न चुनौती छ ।’ खुला सिमानाका कारण भारतबाट लागुऔषध आयात भइरहेको प्रहरीको भनाइ छ ।

गत वर्षको तुलनामा पक्राउ पर्नेको संख्या मात्र नभई बरामद हुने लागुऔषधको मात्रा पनि बढ्दो छ। सबैभन्दा बढी खैरो हिरोइन, चरेस, गाँजा, नाइट्राभेट, फेरागनजस्ता लागुऔषध बरामद हुने गरेको प्रहरी नायब उपरीक्षक जोशीले बताए।

पक्राउ पर्नेको तथ्यांक हेर्दा लागुऔषधको बढी कारोबार धनगढीमा हुन्छ । लागुऔषध बरामद हुने र व्यक्ति पक्राउ हुने घटनाले धनगढी लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ।भारतका सीमावर्ती क्षेत्रबाट लागुऔषध भित्र्याउन धनगढीका विभिन्न ग्रामीण नाका प्रयोग हुने गरेका छन।

प्रहरीका अनुसार कतिपय प्रयोगकर्ता सीमावर्ती भारतीय क्षेत्रमा पुगेर लागुऔषध प्रयोग गर्ने र फर्कंदा लिएर आउने गरेका पाइन्छ। पक्राउ पर्नेबाहेक सुरक्षाकर्मीको आँखा छलेर भित्रिने लागुऔषधको मात्रा निकै बढी हुन सक्ने प्रहरीको अनुमान छ।

लागुऔषध सहजै लुकाएर ल्याउन सकिने भएकाले सूचनाको पाटोलाई बलियो बनाइएको प्रहरी नायब उपरीक्षक जोशीले बताए। लागुऔषधको कारोबार नियन्त्रणमा प्रहरीले अहिले सक्रियता बढाए पनि खुला सिमाना चुनौतीका रूपमा रहेको जोशीले बताए।