अत्तरिया–चैतन्यपुर जोड्ने निर्माणाधिन पुलको लेखराज भट्टद्धारा अवलोकन

Image
maya metro

अत्तरिया – नेकपा एमालेका सचिव लेखराज भट्टले कैलालीको गोदावरी नगरपालिका – १ मा निर्माणाधिन अत्तरिया–चैतन्यपुर जोड्ने मोटरेवल पुलको अवलोकन गरेका छन । गृहनगरमै रहेको उक्त पुलको भट्टले शनिबार अवलोकन गरेका हुन ।

पुलको अवलोकन गर्दै भट्टले यस क्षेत्रका जनताको चाहना बमोजिम पुल निर्माण भइरहेको बताए । ‘म यो क्षेत्रको स्थानीय पनि हो । हिजो केटाकेटी देखि यो नदीमा के– के समस्या आउन्थे मैले आफैले पनि अनुभूति गरेको कुरा हो’ उनले भने ‘चैतन्यपुर बासि लगायत यस क्षेत्रका सबै जनताको मेरै कार्यकालमा पुल बन्नुपर्छ भन्ने मनोविज्ञान पनि भएकाले भौतिक पुर्वाधार मन्त्रालयबाट रकम विनियोजित गरेर पुल निर्माणको काम अगाडी बढेको हो ।’

nisarga

उनले विगतमा पुल निर्माणका क्रममा केही अवरोध भएपनि हाल पुल निर्माणको कार्य दु्रत गतिमा अगाडी बढेको बताए । उनले यस पुल निर्माण पछि अत्तरियामा रिङरोड निर्माणको योजनालाई पनि जोड्ने बताए ।

उनले भने ‘यो पुलले नगरपालिकाले परिकल्पना गरेको रिङ्गरोडलाई पनि जोड्छ । अर्को कुरा यसले अत्तरिया–धनगढी करिडोर निर्माण भएमा महत्वपूर्ण भूमिका खेल्छ ।’

पुल अनुगमनमा सचिव भट्ट संगै रहेका नेकपा एमाले गोदावरी नगरपालिकाका ईन्चार्ज राम प्रशाद चौधरीले पुल निर्माण भएपछि यस क्षेत्रका जनताको ठूलो समस्या टर्ने बताए । उनले उनले पुल निर्माण नहुँदा विगतका बर्षहरुमा धेरै जनाले ज्यान समेत गुमाएकाले पुल निर्माणकार्य अगाडी बढ्नु राम्रो कुरा भएको बताए । उनले पुलले वडा नम्बर ६, ७, ८ र ९ लाई जोड्ने बताए ।

स्थानीय नवराज आचार्यल पुल निर्माण अन्तिम चरणमा पुगेको देख्दा धेरै खुसी लागेको बताए । उनले विगतमा पुल नहुँदा धेरै सास्ती खेपेकाले अब पुल बन्दा निकै सहज हुने विश्वास व्यक्त गरे । ‘पुल नहुँदा चैतन्यपुर बासिले उत्पादन गरेका तरकारी पनि बजार ल्याउन समस्या हुने गरेको थियो’ उनले भने ‘बर्षादमा त आवतजात गर्न नै निकै समस्या थियो ।’

स्थानीय दिलबहादुर कुँवले २०४२ सालदेखि चैतन्यपुुरमा बस्ती बसेको भएपनि पुल नहुँदा निकै सास्ती खेप्नु परिरहेको बताए । उनले अब पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले सहज हुने विश्वास रहेको बताए । ‘केटाकेटीलाई स्कुल जान आउन पनि निकै समस्या थियो । जे होस अहिले लेखराज सरले पुल निर्माणको काम अगाडी बढाइदिनु भयो । यसका लागि वहाँलाई धेरै धन्यावाद दिन चाहन्छु’ उनले भने ‘यो काम यसै बर्ष भित्र सम्मन्न भए अझै राम्रो हुन्थ्यो ।’

पुलको तत्कालिन समयमा संघिय सरकारका उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री रहेका लेखराज भट्टले २०७६ मंसिर २१ गते शिलान्यास गरेका थिए । २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुलको रमन केएस जेभीसँग ६ करोड ७ लाख १ हजार ९ सय ७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल ६० मिटर लम्बाई र ७ मिटर चौडाई रहेको छ ।

पुलको निर्माण अवधि सकिएको भएपनि हाल कोरोना महामारीको कारण देखाउँदै म्याद थप गरेर निर्माण कार्य जारी रहेको छ । सुपर स्टक्चर (ढलान) को काम मात्रै बाँकी रहेको पुलमा हाल ४० मिटरमा ढलानको काम सकिएको छ भने २० मिटरमा ढलानको काम बाँकी छ । पुलको हाल करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको गोदावरी नगरपालिकाका इन्जिनियर पुर्ण कुँवर बताए ।