
कञ्चनपुर – कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि दीपज्योती युवा क्लबले जितेको छ। अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार सञ्चालित जिल्ला लिग फुटबल प्रतियोगिता २०७७र७८ अन्तर्गत दीपज्योती युवा क्लब लगातार दोस्रो चोटि च्याम्पियन बनेको हो।
सोमबार कञ्चनपुर जिल्ला लिग फुटबलको फाइनल खेल रोमाञ्चक बन्न पुगेको थियो। खेलको पहिलो हाफको ६,१५ मिनेटमा दीपज्योतीको तर्फबाट जर्सी नम्बर ११ का करन देव पुरी, जर्सी नम्बर १३ का भुवन जोशीले एक/एक गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भएका थिए। १७ मिनेटमा युथ क्लब अफ महाकाली तर्फबाट जर्सी नम्बर १२ का गौरभ धामीले गोल गर्दै टिमलाई १/२ को स्थितिमा ल्यायन पुगेका थिए। दोस्रो हाफको ६० औं मिनेटमा युथ क्लबको तर्फबाट जर्सी नम्बर १८ का आकाश चन्दले गोल गर्दै टिमलाई २/२ गोलको बराबरीमा पुगाएका थिए।

खेलको ६७औं मिनेटमा दीपज्योती युवा क्लबको तर्फबाट जर्सी नम्बर १२ का निरज एडिले गोल गर्दै टिमलाई ३/२ गोलको अग्रता कायम बनाए र खेलको निर्धारित समय ७४ मिनेटमा युथ क्लबका तर्फबाट जर्सी नम्बर १४ का सन्तोष क्षेत्रीले गोल गर्दै टिमलाई ३/३ को बराबरीमा पुगाउन सफल भए। प्रतिस्पर्धात्मक रोमाञ्चक फाइनल खेल ३/३ गोलको बराबरिपछि खेलको अन्तिम निर्णय ट्राइबेकरबाट भएको थियो। जसमा दीपज्योती ५/३ गोलको अन्तरले युथ क्लब अफ महाकाली फाइनलमा पराजित हुन पुग्यो। जसको फाइदा दीपज्योतीले लिँदै लगातार दोस्रो पटक उपाधी रक्षा गरेको छ।
विजेता टिमले र उपविजेताले ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ। प्रतियोगिताको उत्कृष्ट डिफेन्स युथ क्लब महाकालीका टिम क्याप्टेन वीर धामी, सर्वाधिक गोलकर्ताको उपाधी सेक्युर्ड नेपालका टिम क्याप्टेन ज्ञानु जोशिले हात पार्न सफल भए। उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फोर्वडर दीपज्योती युवा क्लबका खेलाडी करन पाल, निरज थापा मगर र करन देव पुरी घोषित भए। उनले ट्रफी हात पार्न सफल भए। युथ क्लब अफ महाकालीका जर्सी नम्बर १४ का सन्तोष क्षेत्री उत्कृष्ट खेलाडी घोषित हुँदै उनलाई भीम चन्दले फुटबल सुज हस्तान्तरण गरेका थिए।
















