सिटिइभिटीका सबै परीक्षा स्थगित

Image
maya metro

काठमाडौँ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ ।
सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमणका कारण सिटिइभिटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो ।

सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले सिटिइभिटीको मंगलबार बसेको बैठकले परीक्षा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिए।

nisarga

उनले परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने भएकाले परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

सिटिइभिटीले माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

परिषद्ले यही माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा १० दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सिटिइभिटीको तयारी रहेको उपनियन्त्रक घिमिरेले बताए।