
काठमाडौं – सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औँ वर्ष शुरु हुन्छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । गोरू वर्षलाई विदाइ गर्दै बाघ वर्षलाई स्वागत गरिँदैछ। मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।
वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रीय प्रणालीअनुसार गणना गरिने प्राचीन पद्धति हो।
नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरकफरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। यस पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
सोनाम ल्होसारका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यसैबीच, राष्ट्रपति, प्रधानमन्त्री लगायत राजनीतिक दलका शीर्ष नेताहरुले सोनाम ल्होसारका अवसरमा शुभकामना दिएका छन् ।














