
धनगढी – सर्वाधिक पुरस्कार राशिको ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन हुने भएको छ ।
धनगढी स्थित क्षेत्रीय रङ्गशालामा फागुन १९ देखि २८ गतेसम्म सुदूरपश्चिम खप्तड गोल्ड कप सञ्चालन हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।सुदूरपश्चिम प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने भएपछि यसवर्ष प्रतियोगिताको नामाकरण ‘मुख्यमन्त्री अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ।

दुई विदेशीसहित १० टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख रुपैँयासहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए। शाहीका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँच, मोफसलका दुई, विदेशी दुई र एक आयोजक क्लबको टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २०÷२० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ।
फिफा र एन्फाको नियमअनुसार हुने प्रतियोगिता आयोजनामा एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितालाई दैनिक ५हजार दर्शकले प्रत्यक्ष तथा ५० लाख बढीले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दाबी गरेको छ।















