
डडेल्धुरा – डडेल्धुरामा युवकको हत्या आरोपमा तीनजना पक्राउ परेका छन्। सिजापतिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले परशुराम नगरपालिका–१२ मा बस्दै आएका आशिष बराल, आलीताल गाउँपालिका ८ बस्ने अन्दाजी १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर बिकलाई पक्राउ गरेको छ।
डोटीको दिपायल सिलगढी नगरपालिका ३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार बिहान आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएका सिजापतिको उपचारका क्रममा जोगबुढा अस्पतालमा मृत्यु भएको हो।
मदिरा सेवनपछि आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट गरेर उनीहरुले राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर उनलाई घाइते अवस्थामा आलीताल गाउँपालिका–४ मा फालेका थिए।
स्थानीयले सिजापति घाइते अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनलाई जोगबुढा अस्पताल पुर्याए पनि उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको थियो।
हत्या आरोपमा पक्राउ परेका बराल र लोहनी मृतक सिजापतिका नातेदार हुन् भने अटो रिक्सा चालक उनीहरुको साथी भएको खुलेको छ। पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धीत समाचार : डडेल्धुरामा कुटपिटमा परेका युवकको मृत्यु















