
काठमाडौं – अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी दर्ता गराएकी छन् । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।
पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।
सम्बन्धीत समाचार : नायक पल शाहविरुद्ध जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता














