सुदूरपश्चिम प्रदेशमा बढे सवारी दुर्घटना

Image
maya metro

डडेल्धुरा – चालु आर्थिक वर्षको पहिलो सात महिनामा सुदूरपश्चिम प्रदेशमा ३२७ सवारीसाधन दुर्घटनामा परेका छन्। सो दुर्घटनामा ८६ पुरुष, १९ महिला र आठ बालबालिका गरी कुल ११३ जनाले ज्यान गुमाएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका अनुसार सो अवधिमा दुर्घटनामा १८३ पुरुष, ३४ महिला र २५ बालबालिका गरी कुल २४४ जना गम्भीर घाइते तथा २७८ पुरुष, ६६ महिला र २५ बालबालिका गरी कुल ३६९ जना समान्य घाइते भएका छन्। त्यस्तै सो अवधिमा दुर्घटनामा परेर प्रदेशभर २७ चौपायाको मृत्यु र सात घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले दुर्घटनाका प्रमुख कारण तीव्रगति, ओभरटेक, चालक निदाउँदा, मोबाइलको प्रयोग र मापसे रहेको जानकारी दिए। दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लङ्घन नै देखिएको उहाँको भनाइ छ। पुरानो गाडी, ब्रेक नलाग्ने, टायर पन्चर, यान्त्रिक गडिबडीका कारण पनि दुर्घटना बढेको बताइएको छ।

nisarga

यसैगरी सवारी साधनमा झुण्डिएर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरीर बाहिर निकाल्ने र जथाभावी बाटो काटने तथा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका कारण पनि दुर्घटना बढेको उनको भनाइ छ। सडकमा देखिएको खाल्टाखुल्टी, घुम्तीमोड, उकाला,ओरालो, जीर्ण कच्ची सडकका कारण पनि दुर्घटना हुने गरेको चालक बताउँछन्।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित चेकसँगै जनचेतनामूलक सन्देश दिँदै आइरहेको भएपनि दुर्घटनामा कमि ल्याउन नसकेको प्रहरी निरीक्षक सिंहको भनाइ छ।

रासस