
दार्चुला – भारतले दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।
शनिवार दार्चुलावासी स्थानीयले सदरमुकाम खलङ्गास्थित आफ्नो भूमिबाट ढुगां प्रहार गर्दै विरोध जनाएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सभामुख, उपसभामुख सहितको प्रदेशसभा सदस्य र राजनीतिक दलहरूको टोली दार्चुलामा छ । तर उनीहरूले भारतीय पक्षले गरेको ज्यादती नदेखे झैँ गरेको स्थानीय चक्रबहादुर बमले बताए ।
यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेका छन्। नेपालतर्फ महाकालीको धार फर्किने गरेर तटबन्ध निर्माण कार्य नरोकिएकाले आफूहरू आन्दोलनमा उत्रिएको स्थानीयहरूले बताएका छन् ।
तटबन्ध निर्माणका विषयमा भारतीय पक्षले समन्वय नै नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
यस विषयमा राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन रहेको स्थानीयले गुनासो गरेका छन्।














