कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्न माग

Image
maya metro

काठमाडौं – नेपाल व्यावसायिक बाख्रापालन महासंघले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ।

किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासंघले माग गरेको हो।

nisarga

महासंघका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत र पिपिआर पूर्ण खोपको व्यवस्था, दुर्घटना बिमा, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भत्ताको व्यवस्था गरी कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता सरकारले गर्न सकेमा देशमा कृषि क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे।

महासंघका कोषाध्यक्ष दीपक गौतमले कृषिमा लागेका जनसंख्याको ६० प्रतिशतले बाख्रापालन गर्ने भए पनि स्वदेशी उत्पादनका लागि सरकारले उचित नीति बनाउन नसकेकाले भारतबाट बाख्रा आयात भइरहेकामा चिन्ता व्यक्त गरे। पशुपालन क्षेत्रमा बीमा कम्पनीले बिमा लिन नखोज्ने, लिएकाको भुक्तानी ढिलाइ गर्ने समस्या रहेको बताइएको छ।

रासस