काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो ।
भनेकै समयमा मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार यति एयरलाइन्सका १० वटा उडान रद्द भएका छन् । काठमाडौँबाट बिरामी बोकेर ओखलढुङ्गा र पोखरा जानुपर्ने हेलिकप्टरले समेत उडान भर्न पाएनन् । प्रतिकूल मौसमकै कारण बिहीबार नेपाल वायुसेवा निगमका दुई, बुद्ध र समिटको एउटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । उड्न नपाउँदा यात्रु दिनभरिको प्रतीक्षापछि घर फर्किनुपरेको छ ।
दुई जना पाइलट असम्भव
नेपाल वायु सेवा सञ्चालक सङ्घले हेलिकप्टरमा दुई जना पाइलट राख्नुपर्ने निर्णयको कार्यान्वयन सम्भव नरहेको बताएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको जनाउँदै सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको छ । हेलिकप्टरमा दुई जना पाइलट राख्नेबारे प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।
एक इन्जिन भएको हेलिकप्टरमा दुई जना पाइलट राख्दा तलबमा ठूलो रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धराशायी हुने सञ्चालकहरूको भनाइ छ । नौ सिटभन्दा माथिका हेलिकप्टरमा दुई जना पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकप्टरमा दुई जना पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनीहरुको धारणा छ । हाल नेपालमा ११ वटा हेलिकप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ वटा र दुई वटा इन्जिन भएका पाँच वटा हेलिकप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । १० जना विदेशी र २६ जना नेपाली पाइलटले एक इन्जिन भएका हेलिकप्टर उडाउँदै आएका छन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।