धनगढी – अछाम घटनामा अनुसन्धानका लागि सीआईबीको टोली खटाइएको छ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डीएसपीको नेतृत्वमा सीआईबीको टोली परिचालन गरिएको हो।


निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेको डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले जानकारी दिए। उनकाअनुसार शनिबार साँझ अछामतर्फ गएको सीआईबीको टोली घटनास्थल पुगेर आजबाट काम थाल्नेछ।
उक्त टोलीमा नेपाल प्रहरीको सुदूरपश्चिम अनुसन्धान समूह (आरआइटी) का सदस्यहरु समेत छन्।

प्रमुख जिल्ला अधिकारी मरासिनीले अनुसन्धानका लागि सीआईबीको टोली तालिम प्राप्त कुकुरसहित खटिएपछि आन्दोलित भएका स्थानीयले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिए।
घटनाको अनुसन्धानका लागि सीआईबीका अतिरिक्त छिमेकी बाजुरा र डोटीबाट समेत प्रहरी टोली परिचालन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाही शनिबार घर नजिकै मृत अवस्थामा फेला परेका थिए। उनी मृत भेटिएपछि प्रशासनविरुद्ध स्थानीय प्रर्दशनमा उत्रिएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको थियो।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। स्थानीय प्रशासनका अनुसार विवादका क्रममा उक्त कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो। सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो। सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ। शाही नेकपा एमाले समर्थक परिवारको सदस्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
साभार
